PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘लकडाउन’मै नाटक हेर्ने अवसर, पाँच बजे फेसबुकमा लाइभ हुँदै



पहिलोपोस्ट

‘लकडाउन’मै नाटक हेर्ने अवसर, पाँच बजे फेसबुकमा लाइभ हुँदै

काठमाडौं : देशमा ‘लकडाउन’ छ। मानिसहरु सामाजिक सञ्जालमार्फत् घरमा रहनु, परिवारसँग बिताउनुको मजादेखि बाहिर निस्कन नपाउनुको दिक्दारीसम्म पोखिरहेका छन्। कोरोना भाइरसको संक्रमणबाट जोगिन भएको यस प्रयासबीच दर्शकले नाटक हेर्न पाउने भएका छन्।  

यस त्रासदीपूर्ण स्थितिबीच नजिकिएको विश्व रङ्गमञ्च दिवसको अवसर पारेर ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ (भर्चुअल नाट्य महोत्सव) आयोजना हुन लागेको हो। मार्च २७ तारिख अर्थात् विश्व रङ्गमञ्च दिवसको उपलक्ष्यमा शुरु हुने महोत्सव सात दिनसम्म चल्नेछ।

थिएटर मल (कीर्तिपुर रङ्गमञ्च) र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले संयुक्त रूपमा फेसबुकमार्फत् नाटक देखाइन लागेको हो।

‘कोभिड–१९ को महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए।

‘हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ। घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ,’ उनले भने।

हरेक साँझ ५ बजे थिएटर मलको अफिसियल फेसबुक पेजमार्फत् नाटक देखाइने छ।

दर्शक सेल्फ क्वारेन्टाइनमा रहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नपरोस् भन्ने उद्देश्य रहेको श्रेष्ठले बताए। जसले रङ्गमञ्चका कलाकार र दर्शकबीच अन्तरक्रियाको वातावरण समेत सिर्जना गर्ने आशा व्यक्त गरे।

महोत्सवको पहिलो दिन विश्व रङ्गमञ्च दिवस बारे सन्देश प्रवाह गर्ने र अग्रजहरूको रेकर्डेड शुभकामना सन्देश पनि नाटकअघि देखाइने जानकारी दिए।

'नाटक सन्देश प्रवाहको जटिल माध्यम हो। किनकि यहाँ प्रत्यक्ष संवाद आवश्यक हुन्छ तर पनि हामीले दर्शकसँग जोडिने सक्दो कोशिश गरेका छौं', केदारले भने।

लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ।  थिएटर मलकै नाटकबाट सुरु गरेर अरू इच्छुक थिएटरहरूका नाटक पनि पालै–पालो प्रस्तुत गर्दै जाने योजना रहेको फेस्टिभल प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले जानकारी दिए।

लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठिक समयमा हुनेछ र थिएटरकै नियमहरू लागू हुनेछ। उनले लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न पाइने छैन।

लाइभ स्ट्रिमिङ भएका नाटकको भिडियो डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ। त्यसो गरिएको पाइएमा सर्वाधिकार र साइबर कानुन लागू हुने फेस्टिभल संयोजक सञ्जिता पराजुलीले बताइन्। भन्छिन्, ‘हामीलाई थाहा छ– हामीले यो समयमा जे काम गर्दैछौं, रङ्गमञ्चका दर्शकको मनोभावना बुझेरै गर्दैछौं। उहाँहरू जिम्मेवार हुनुहुन्छ भन्ने विश्वास छ। सिर्जनामाथिको सर्वाधिकारलाई उहाँहरूले सम्मान गर्नुभएको छ र गर्नुहुने नै छ।’

नाटक प्रदर्शनको समय ‘कोरोना (कोभिड १९) बारे सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमहरू समेत उद्घोषण गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell