पोखरा : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिकाले सामुदायिक बन उपभोक्ता समूहको भवनमा क्वारेन्टाइन सञ्चालन गरेको छ। सरकारले देशैभरी कोरोनाको संक्रमण रोक्नका लागि शुरु गरेको लकडाउनसँगै गाउँपालिकाले वडा नम्बर ५ स्थित देउरालीस्थित ठूलोबन सामुदायिक बन उपभोक्ता समूहको भवनमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो।
विशेषतः विदेशबाट गाउँ आउने व्यक्तिबाट भाइरसको उच्च जोखिम रहेको भन्दै हालै विदेशबाट आएका व्यक्तिलाई १५ दिनसम्म निगरानीमा राख्ने लक्ष्यसाथ क्वारेन्टाइन सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए। उनका अनुसार करिब दुई सय बेड क्षमता रहेको उक्त क्वारेन्टाइनमा हाल २२ व्यक्ति रहेका छन्।
शहरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि गाउँमा त्यसको खासै अनुभूति गर्न नसकिएको वास्तविकतामा विदेशबाट हालै आएर गाउँ प्रवेश गर्ने जोकोही व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनले बताए। गण्डकी प्रदेशअन्तर्गतका विभिन्न ३४२ सामुदायिक बन उपभोक्ता समूहका भवन रहेको र आवश्यकतानुसार सरकारले प्रयोग गर्न सक्ने सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश अध्यक्ष कालीदास सुवेदीले जानकारी दिए।