PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

छुट्टै ‘फिवर क्लिनिक’ सञ्चालन गर्न सबै ‘हब हस्पिटल’लाई सरकारले दियो १० लाख



पहिलोपोस्ट

छुट्टै ‘फिवर क्लिनिक’ सञ्चालन गर्न सबै ‘हब हस्पिटल’लाई सरकारले दियो १० लाख

काठमाडौं : सरकारले मुलुकभर हब हस्पिटलका लागि छुट्टै ‘फिवर क्लिनिक’ सञ्चालन गर्न प्रतिअस्पताल १० लाख रुपैयाँ उपलब्ध गराएको छ। ज्वरो आउने, रुघा लाग्ने जस्ता लक्षण देखिएर कोरोनाका शंकामा जाँचका लागि आएका बिरामीलाई राख्नका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दे सरकारले त्यसका लागि प्रतिअस्पताल १० लाख रुपैयाँ दिएको हो।

विहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव यादव कोइरालाले हब अस्पताललाई छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था गर्दै ती अस्पताललाई १० लाख उपलब्ध गराइएको जानकारी दिएका हुन्। साथै त्यस्ता बिरामीको जाँचका लागि सरकारले आफ्नै ढंगको पिपिईको मापदण्ड बनाएको र सोही मापदण्ड अपनाउन भनिएको पनि उनले स्पष्ट पारे।

उनले भने, ‘साधारण रुघाखोकी लागेको बिरामीको जाँच गर्नका लागि भनेर पिपिई गाइडलाइन बनाएका छौँ र पिपिई गाइडलाइन अनुसार उपचारमा संलग्न हुन भनिएको छ।’

त्यसैगरी सरकारले सबै पालिकालाई विदेशबाट आएका व्यक्तिलाई आफ्नो क्षेत्रमा क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ। साथै क्वारेन्टाईनमा बसेका व्यक्तिमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएमा तत्काल आइसोलेसनमा राख्ने तथा आइसोलेसनमा राखिएकाहरुको स्वास्थ्य गम्भीर बन्न थाल्यो भने स्वाब परीक्षण गर्न पठाउन निर्देशन गरेको छ।

सचिव यादवले क्वारेन्टाइन र आइसोलेसनमा राख्ने तथा त्यसको सम्पूर्ण रिपोर्ट केन्द्र सरकारलाई गराउने सम्बन्धमा स्पष्ट निर्देशिका बनाएर प्रदेश र स्थानीय सरकारलाई पठाइएको बताए। स्थानीय जनप्रतिनिधिलाई दैनिक क्वारेन्टाइनको अनुगमन गरी विदेशबाट आएका र आईसोलेसनमा रहेकाको अवस्थाको जानकारी दैनिक रुपमै गृहमन्त्रालयमा जानकारी दिन भनिएको उनले स्पष्ट पारे।

विदेशबाट आउँदैमा डराइहाल्नुपर्ने अवस्था नभएको भन्दै उनले सेल्फ क्वारेन्टाइनमा बस्न र कोरोना भाइरसको संक्रमण देखिए तत्काल तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आग्रह गरे। उनले अहिलेसम्म शंका लागेका ७ सय भन्दा बढी नमुनाको परीक्षण गरिएको र ती मध्ये ३ जनामा मात्रै कोरोना देखिएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell