PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

लकडाउन सफल बनाउन स्थानीयको यस्तो जुक्ति : बाटो छेकेर गाउँ प्रवेशमै निषेध



राधेश्याम पटेल

लकडाउन सफल बनाउन स्थानीयको यस्तो जुक्ति : बाटो छेकेर गाउँ प्रवेशमै निषेध

वीरगंज : कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तराईका गाउँघरमा स्थानीयले अनौठो उपाय निकालेका छन्। उनीहरुले गाउँमा कोही अपरिचित व्यक्ति प्रवेश नगरोस भन्ने उद्देश्यले गाउँ प्रवेशमा निषेध गरेका छन् भने बाहिरबाट आउने सवारी साधनलाई समेत चोकचोकमा छेकबार लगाएर लकडाउनलाई सफल पारिरहेका छन्।

प्रदेश २ को पर्सा बाराको ग्रामिण भेगका विभिन्न गाउँहरु लक डाउनले आज तेस्रो दिन पनि सुनसान रहेका छन्। ग्रामिण भेगमा औषधि पसल तथा किराना पसल बाहेक अन्य सबै पसलहरु बन्द रहेका छन्। ग्रामीण सडकहरुमा प्रहरीले सवारी साधन चल्न दिएका छैनन्।

यसैबीच, विगत तीन दिनदेखि लकडाउन भएपछि दैनिक उपभोग्य वस्तु सकिन लागेका किराना पसल सञ्चालकहरुले बताएका छन्। जिराभवानी गाउँपालिका वडा नम्बर ३ नौकाटोलाका किराना पसले शंकर चौधरीका अनुसार भारतीय बजार तथा वीरगंजबाट आउने खानेतेल, नुन, चिनी, चामल लगायतका दैनिक उपभोग्य सामान रित्तिन थालेपछि ग्रहकहरुलाई सीमित परिमाणमा मात्रै सामान बिक्री गरिरहेको बताए।

खाद्यान्न अभावलाई पूर्ति गर्न स्थानीय जनप्रतिनिधिहरुले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ। लगातारको लकडाउनका कारण हुनेखानेलाई खासै असर नपरे पनि आर्थिक अवस्था कमजोर रहेका तथा दैनिक ज्यालादारीको काम गर्ने मजदुरलाई बिहान बेलुकाको छाक टार्न निकै कठिनाइ भोग्नु परेको विपन्न समुदायका मानिसहरुको गुनासो छ।

अहिले खेतबारीमा खासै काम नभएकाले विकास निर्माण तथा घर निर्माण कार्यमा निर्भर रहेका मजदुरहरुलाई सास्ती भोग्नुपरेको छ। जगरनाथपुर गाउँपालिका वडा नम्बर १ निवासी महेन्द्र रामले दैनिक ज्यालादारीको काम गरेर ल्याइएको पैसाबाट दाल चामल तथा अन्य आवश्यक वस्तु खरिद गरी पेट पाल्दै आएको बताए। सरकारले गरेको लकडाउनका कारण काम बन्द भएकोले ज्याला नपाउदा सञ्चय गरेको केही पैसा सकिएको गुनासो गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell