PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोनाले खेल रोकिँदा कहाँ के गर्दैछन् खेलाडी?



मुकुन्द घिमिरे

कोरोनाले खेल रोकिँदा कहाँ के गर्दैछन् खेलाडी?

काठमाडौं : कोरोनाको विश्वभरको माहोल फेरेको छ। यसैबाट प्रभावित छ विश्व खेलकुद पनि। नेपाली खेलकुद पनि त्यसबाट अछुतो छैन। पछिल्लो समय नेपालमा खेल गतिविधि ठप्प छन्।

फागुन २२ गते खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले खेल गतिविधि रोक्न सूचित गरेसँगै नेपालका अधिकांश खेल रोकिएका थिए।

त्यतिबेला एभरेस्ट प्रिमियर लिग, विश्वकप फुटबलको छनोट चरणका खेललगायत खेलका लागि खेलाडी तयारी गरिरहेका थिए। त्यस्तै टोकियो ओलम्पिकको छनोटका लागि पनि तयारी चलिरहेको थियो खेलाडीहरुको।

चैत ४ मा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले एकहप्ताका लागि सबै खेल गतिविधि रोक्न निर्देशनसँगै ठप्प भयो खेल गतिविधि। त्योसँगै फुटबलको बी डिभिजन रोकियो भने एन्फा, क्यानलगायतका खेल संघहरुले खेल गतिविधि देशभर रोकिएको बताए।

त्यसयता खेलाडीहरु फुर्सदमा छन्। अर्कोतर्फ कोरोनाको प्रकोप बढ्दो छ। पहिला खेलकुदमामात्र आक्रामक देखिएको सरकारले अहिले सतर्कता बढाएको छ। विद्यालय विश्वविद्यालय बन्द छन्। लामो दुरीको यात्राहरु बन्द भइसके। देशको माहोल फेरिँदै छ।

यता खेलाडीहरु भने अहिले फुर्सद्मा छन्। ट्रेनिङ रोकिएको छ। खेलहरु स्थगित भएका छन्।

के गर्दैछन् खेलाडीहरु?

गौरिका सिंह :  दक्षिण एसियाली खेलकुदमा पदक नै पदक जितेर देशको नाम उचो बनाएकी पौडीबाज गौरिका सिंहले आफू 'सेल्फ आइसोलेसन'मा बसेको भन्दै तस्बिरहरु सामाजिक सञ्जालमा हालेकी छिन्। उनले घरमै रहनसमेत आव्हान गरेकी छिन्।

'सेल्फ आइसोलेट - घरमै रहनुहोस्। तपाईको समय र सिर्जनशिलता समुदायलाई जोगाउन प्रयोग गर्नुहोस्।'

पारस खड्का : नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आइतवार सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै अहिलेको अवस्थामा सबैले आफ्नो जिम्मेवारी लिनुपर्ने बताएका थिए।

'मलाई थाहा छ। यो हामी कसैका लागि पनि सहज समय छैन। त्यसैले अहिलेको अवस्थामा मेरो र क्रिकेट टिमको तर्फबाट आग्रह गर्दछु कि सबैजना घर बसेर अत्यावश्यक कामबाहेक बाहिर नगएर नेपाल सरकार र सबै सम्बन्धित निकायलाई सहयोग गरिदिनुहुन आग्रह गर्दछु,' क्रिकेटर खड्काले भनेका छन्, 'सबैले आफ्नो तर्फबाट जिम्मेवारी लिने हो भने मलाई लाग्छ आगामी दिनमा जुन यो परिस्थिति छ यो बाट हामीलाई अघि बढ्न सहज हुनेछ।'

नविन रसाइली : सागमा करातेमा स्वर्ण पदक जितेका नविन अहिले काठमाडौंमै छन्। गाउँ जाने उनको योजना छैन। शुक्रवारबाट तालिम रोकिएसँगै घरमै छन्। आफैले सेल्फ ट्रेनिङ गरिरहेको उनले बताए।

कोरोनाको बढ्दो सङ्क्रमणबारे सचेत भएको उनले जनाए।

'घरमै छु आजकल त। अवस्था सामान्य भएपछि फेरि तालिममा फर्कने भन्ने कुरो भएको छ। कोरोनाप्रति अस्ति पनि ब्रिफिङ भएको थियो। यसमा हामी परिवारले नै ध्यान दिइरहेका छौं,' रसाइलीले भने।

कुसुम खड्का : सागको स्वर्णधारी कुसुम खड्का काठमाडौंतिरै छिन्।

'अस्ति शुक्रबारबाट ट्रेनिङ पनि हुन छाड्यो। जीवनशैलीमा परिवर्तन भएको छ। गाउँबाट बोलाउँदै हुनुहुन्थ्यो ममीले। तर के गर्ने भन्ने अझै निश्चित भइसकेको छैन,' उनले पहिलोपोस्टसँग भनिन्।

कोरोना बढ्दो प्रकोपबाट सावधानी अपनाइरहेको उनले बताइन्।

भरत खवास : त्रिभुवन आर्मी क्लबका कप्तान तथा नेपाली फुटबल खेलाडी भरत खवास यतिबेला काठमाडौंमै छन्। कोरोनाका कारण खेललगायत जिम, अभ्यास सबैतिर ठप्प भएका कारण टिमका खेलाडीहरु युनिट फर्किएको बताए।

'सबै खेल गतिविधि पनि बन्द भइरहेको छ। हाम्रो आर्मी क्लबमा पनि खेल गतिविधि छैन अहिले। सबै खेलाडीहरु आआफ्नो युनिटतिर फर्किए। युनिटमा पनि आर्मीले क्वारेन्टाइनहरु बनाइरहेको छ नि, त्यसका लागि सबै खेलाडी आआफ्नो युनिटमा फर्किएका छन्।' आर्मीका कप्तान खवासले भने, 'म पनि अहिले ब्यारेकमै गएर ड्युटी गरिरहेको छु। अर्को आदेश नआउँदा सम्मलाई तालिमहरु पनि रोकिएको छ। यसो फ्री टाइममा आफै सामान्य अभ्यास गरिरहेको छु।

मीरा राई : चर्चित अल्ट्ररेस धाविका मीरा राई भने इलामतिर छिन्। उनले इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिका घुमेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी छिन्।  साथै उनले कोरोना भाइरसबाट सचेत रहनसमेत आग्रह गरेकी छिन्।

'कोरोना भाइरसबाट आफूलाई जोगाउनुहोस। सबै साथीहरु सचेत रहनु होस्।'

दीपक विष्ट : नेपाली तेक्वान्दोका लिजेन्ड दीपक विष्टले सामाजिक सञ्जालमार्फत सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्। उनले विश्वभर संकटका रुपमा कोरोना देखिएको भन्दै सरकारको निर्णय पालन गर्न आग्रह गरेका छन्।

'कोराना भाइरसले विश्वमा आइपरेको समस्याले एक पटक सबैलाई सोच्न बाध्य बनाएको छ। नेपाल पनि उच्च जोखिममा रहेको विषयलाई मध्यनजर गर्दै सावधानी अपनाउन आग्रह गरेको छ,' विष्टले लेखेका छन्, 'त्यस्तै आवश्यक कदम उठाएको छ। हामी सबैले सरकारको निर्णयको पालना गरौं। सबैले आफ्नो, परिवारको ख्याल गरौं।'

विष्टले पटक पटक हात धुने बानी बसाल्नसमेत आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell