PahiloPost

May 14, 2024 | १ जेठ २०८१

दिनरात खटिरहेका सुरक्षाकर्मी कति जोखिममा? ट्राफिक जवानको प्रश्न: १० रुपैयाँको मास्क लगाएर हामी कसरी सुरक्षित?



कमलराज भट्ट

दिनरात खटिरहेका सुरक्षाकर्मी कति जोखिममा? ट्राफिक जवानको प्रश्न: १० रुपैयाँको मास्क लगाएर हामी कसरी सुरक्षित?

काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेपछि देशभर लकडाउन घोषणा गरेको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मंगलवारदेखि एक साताका लागि घोषित लकडाउन कार्यान्वयन गर्न सुरक्षाकर्मी दिनरात खटिएका छन्।

बिहीवारमात्रै गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरुसँग छलफल गर्दै लकडाउन पूर्णरुपमा कार्यान्वयन गराउन निर्देशन दिए। लकडाउनको तेस्रो दिन बितिसक्दा पनि सडकमा सुरक्षाकर्मीमात्रै देखिन्छ फाट्टफुट्ट सवारीबाहेक। नागरिकको साथ र सुरक्षाकर्मीको खटाइले लकडाउन सफल हुने दिशातर्फ छ।

मुख्यत: ट्राफिक प्रहरी र जनपद प्रहरी खटिएका छन्। ब्याकअपमा सशस्त्र प्रहरी खटिएको छ। सेनाले फाट्टफुट्ट जीपमार्फत् गस्ती गरिरहेको छ। कोरोना रोकथामका लागि लकडाउन गरे पनि यसलाई कार्यान्वयन गराउने सुरक्षाकर्मी भने खाली हात सडकमा खटिएका छन्। न उनीहरुसँग गुणस्तरीय मास्क छ, न त पन्जा नै। केहीले मेडिकल ग्लोब्स लगाएका छन् भने केही खाली हात सडकमा उत्रिएका छन्। उनीहरुसँग हात पुछ्ने स्यानिटाइजर समेत छैन।

सडकमा सवारी रोक्ने, पास चेक गर्ने काम ट्राफिक र जनपद प्रहरीले गरिरहेका छन्। पास नलिएका सवारीलाई नियन्‍त्रणमा लिने काम पनि उनीहरुले गरिरहेका छन्। यसक्रममा सयौं व्यक्तिसँग उनीहरुको साक्षात्कार हुन्छ। तर, उनीहरु आफैं सुरक्षित छैनन्। सतर्कताका लागि आवश्यक सामग्री छैन। एक हिसाबले भन्ने हो भने कोरोना भाइरस फैलिन नदिन लकडाउन कार्यान्वयनमा खटिएका उनीहरु आफैं कोरोनाको उच्च खोखिममा छन्। जबकि अरुलाई सुरक्षा दिने सुरक्षाकर्मी पहिला आफै सुरक्षित हुनुपर्ने हो।

सडकमा खटिएका सुरक्षाकर्मीसँग साक्षात्कार गर्दा उनीहरुले जोखिम मोलेर खटिएको सुनाए। 'कोरोना रोक्न सरकारले हाम्रो सुरक्षाको ख्यालै नगरी खटाएको छ। दिनहुँ सयौं व्यक्तिसँग सम्पर्क हुन्छ, १० रुपैयाँको मास्क लगाएर हामी कसरी सुरक्षित हुने?' सडकमा खटिएका अधिकांश ट्राफिक जवानको एउटै गुनासो सुनिन्छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लकडाउन कार्यान्वयन गराउन ६ सयभन्दा बढी ट्राफिक कर्मचारी खटिएका छन्। उनीहरुसँग हात सफा गर्न स्यानिटाइजरसम्म छैन। जबकि कोरोना संक्रमण हुन नदिन हात सफा गरिरहनुपर्छ। धुनका लागि पानी छैन। महाशाखामा ज्वरो नाप्ने यन्त्र पनि छैन।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले फिल्डमा खटिने ट्राफिक कर्मचारीसँग कोरोनाबाट सुरक्षित हुने पर्याप्त सामग्री नभएको स्वीकार गरे।

'जोखिम मोलेर चुनौतीको सामना गरिरहेका छौं। आवश्यक सामग्री खोज्दै छौं,' उनले भने। उनका अनुसार कोरोनाको संक्रमणको खतरा कार्यालय र ब्यारेकमा पनि छ। अझ केही जवान त ड्युटी सकेर घर/कोठा जाने गरेका छन्। यसबाट उनीहरुको परिवार समेत जोखिममा छ। त्यसैले निजी क्षेत्रसँग समन्वय गरेर भए पनि गुणस्तरीय सामग्रीको व्यवस्थापन गर्न आफू लागिपरेको एसएसपी ढकालले सुनाए। माथिल्लो निकायमा समेत माग गरिएको उनको भनार्ई छ।

जनपदलाई अनुसन्धानमै कठिनाई

ट्राफिकजस्तै जनपद प्रहरीले पनि आवश्यक सुरक्षित मेडिकल सामग्री नहुँदा जोखिम महसुस गरेका छन्। लकडाउन कार्यान्वयनमा खटिनुका साथै कसैको मृत्यु भएमा मुचुल्का गर्ने, शव उठाउने र अन्य अनुसन्धानमा समेत प्रहरीलाई अफ्ठ्यारो परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार लकडाउनको समयमा काठमाडौंमा ४ हजार ५ सय प्रहरी खटिएका छन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराम सुवेदीले फ्रन्टलाइनमा खटिएर काम गर्ने भएकाले प्रहरी जोखिममा रहेको बताए।

'स्ट्यान्डर्ड मास्क, ग्लोब, पीपीई नहुँदा काम गर्न एकदमै जोखिम छ। कोही मान्छे मर्‍यो भने शवको जाँच तथा मुचुल्का गर्न जोखिम छ। किनकि कोरोनाबाट मरेको होइन भन्ने ग्यारेन्टी हामीसँग हुँदैन। शव हेरेर मुचुल्कामा सबै लेख्नुपर्छ। अहिलेको समयमा अब त्यहाँ पनि रिक्स भयो', उनले भने। उनका अनुसार अब हरेक युनिटमा स्ट्यान्डर्ड पीपीई आवश्यक पर्ने भएकाले सरकासँग माग गरिएको छ। परिसरले आफै पनि केही तयारी गरिरहेको उनको भनाई छ।

एसएसपी सुवेदीले सुरक्षित सामग्री नहुँदा ब्यारेक नै उच्च जोखिममा रहेको उल्लेख गरे। 'हामी सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा हुन्छौं। भीड भएमा हटाउन जानुपर्यो। नागरिक समस्यामा परे जानैपर्यो। कहीँ झगडा परे छुट्याउन जानै पर्यो। नागरिकसँग हामी म्याक्सिमम कन्ट्याक्समा हुन्छौं। त्यसमा भाइरस इन्फेक्टेड मान्छेसँग सम्पर्क भयो भने उच्च जोखिम हुन्छ। अनि हामी ब्यारेक सिस्टममा बस्छौं। हामी दुई/चार जनालाई संक्रमण हुनु भनेको पुरै टिम जोखिममा जानसक्ने भयो', उनले थपे। जोखिमबाट बच्न उच्च गुणस्तरीय सुरक्षित सामग्री चाहिने उनको भनाई छ।

सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्दै प्रहरी प्रधान कार्यालय

काठमाडौं उपत्यका मात्र होइन देशभरकै सुरक्षाकर्मी अहिले सुरक्षित मेडिकल सामग्रीको अभावमा कोरोना भाइरसको उच्च जोखिममा छन्। यसबारे प्रहरी प्रधान कार्यालयले आवश्यक सामग्री जोहो गर्न थालेको छ।

प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जोखिम प्रहरीमात्र नभई सबैलाई भएको भन्दै मास्क पुग्दो रहेको बताए। 'हामीसँग सामग्री पूर्ण मात्रामा छैन। फिल्डमा खटिनेले न्यूनतम सुरक्षा आवश्यकता पुरा गरेकै हुन्छ। दुरी कायम गर्न भनिएको छ। अरु केके गर्ने भन्ने अन्यौल छ। अहिले हामीसँग भएका स्रोतहरुको अधिकतम उपयोग गरेर जोगिने गरिरहेका छौं', उनले भने, 'पछि आउनसक्ने भयावह स्थितिका लागि हामीसँग पीपीई मौज्दात छ। थप मगाइएको छ।' सुरुवातमै सबै प्रहरी पीपीई लगाएर निस्किँदा भोलि भयावह अवस्थामा अभाव हुने भएकाले मौज्दात राखिएको उनको भनाई छ।

लकडाउन प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न प्रहरी प्रधान कार्यालय लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell