
काठमाडौं: कोभिड–१९ बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको छ।
काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गरी कोभिड–१९ ले विश्व नै त्रसित भइरहेको र नेपाल सरकारले विभिन्न आदेश जारी गरिसकेको अवस्थामा सूचना तथा प्रशारण विभागमा दर्ता नै नभएका र काउन्सिललमा सूचीकरणका लागि निवेदन नदिएका केही अनलाइनले संवेदनशीलतालाई रमाइलो विषय बनाएर झुटा समाचार सम्प्रेषण गरेकामा कानूनअनुसार कडा कारवाही गर्ने जनाएको हो।
'सार्वजनिक सूचना, अपिल, पत्राचार तथा फोनमार्फत पटक पटक गरेको आग्रहलाई वेवास्ता गरेका कतिपय सञ्चारमाध्यमलाई गरिसकिएको छ, काउन्सिल यस्ता अनलाइनमाथि पनि कडा कारवाही गर्न बाध्य हुनेछ', विज्ञप्तिमा भनिएको छ। केही अनलाइन विदेशमा भएका कोरोना भाइरस सङ्क्रमणका घटनालाई नेपालमै भएको जस्तो गरी शीर्षक राखेर सामग्री राखेको विषय काउन्सिलको स्वअनुगमनबाट देखिन आएको हो।
काउन्सिलले आमपत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित भएर सूचना तथा समाचार सामग्री सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ।