PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कोरोना संक्रमित संख्यामा अमेरिकाले चीनलाई उछिन्यो, ट्रम्प भन्छन्: धेरै परीक्षण गर्दा संख्या बढ्यो



पहिलोपोस्ट

कोरोना संक्रमित संख्यामा अमेरिकाले चीनलाई उछिन्यो, ट्रम्प भन्छन्: धेरै परीक्षण गर्दा संख्या बढ्यो
PHOTO : GETTY IMAGES

काठमाडौँः संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ८५ हजार ५ सय जना पुगेको छ। यससँगै पहिलोपटक भाइरस देखिएको चीनलाई समेत उछिन्दै अमेरिका विश्वमै सबैभन्दा धेरै संक्रमित भएको देश बनेको छ।

जोन्स होपकिन्स विश्वविद्यालयको तथ्यांक अनुसार चीनमा ८१ हजार ७ सय ८२ संक्रमित छन् भने इटालीमा ८० हजार ५ सय ८९ भन्दा बढी संक्रमित छन्।

अमेरिकामा कोभिड १९ बाट हालसम्म १ हजार १ सय जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले पान्डेमिक तीब्र रुपमा फैलिँदै गएको जनाएको छ। यो संक्रमण एक लाखमा पुग्न पहिलो संक्रमण देखिएको ६७ दिन लागेको थियो। त्यसपछिको ११ दिनमा अर्को एक लाखमा संक्रमण थपियो। र अर्को चार दिनमा फेरि अर्को एक लाखमा संक्रमण देखियो।

गत साता मात्र अमेरिकामा पाँच हजारको हाराहारीमा संक्रमण देखिएको थियो। भने मार्चको सुरुवातमा १०० जनाको हाराहारीमा संक्रमित थिए।

बिहीबार बिहानसम्ममा न्यूयोर्क शहरमा मात्र ३७ हजार २५८ जनामा संक्रमण देखिएको छ। जुन अमेरिकामा भएको संक्रमणको झण्डै आधा हो। अमेरिकामा २० राज्यमा सर्वसाधारणलाई घर बाहिर निस्किन रोक लगाइएको छ।

धेरै परीक्षणले संख्या बढ्यो

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संक्रमितको संख्या बढ्नुलाई परीक्षणको नतिजा भनेका छन्। पत्रकार सम्मेलनमा ट्रम्पले भने, 'हामी  धेरैभन्दा धेरै परीक्षण गरिरहेका छौं। यो संख्या त्यसैको नतिजा हो।'

ट्रम्पले चीनले कोरोना संक्रमितको संख्या लुकाएको आरोप समेत लगाए। जुन संख्या देखाइएको छ त्यो भन्दा धेरै संक्रमित चीनमा रहेको उनको दाबी छ।

संसारका १८० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसबाट ५ लाख मानिस संक्रमित छन् भने २३ हजार मानिसको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell