PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

भारतबाट नेपाल फर्किएका दुई सय नेपाली झुलाघाटमा अलपत्र, नाका बन्द भएपछि महाकालीमा ट्युबको सहाराले फर्कंदै



रासस

भारतबाट नेपाल फर्किएका दुई सय नेपाली झुलाघाटमा अलपत्र, नाका बन्द भएपछि महाकालीमा ट्युबको सहाराले फर्कंदै

  • विनोदसिंह विष्ट-

बैतडीः भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन्। गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन्।

बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोला, घर भएका गजेन्द्र भट्टले आफूहरू तीन दिनदेखि झुलाघाटमा अलपत्र अवस्थामा रहेको बताए। भट्टले भारतमा पनि लकडाउन भएका कारण भारतीय प्रहरीले समेत आफूहरुलाई देख्ने बितिक्कै कुटपिट गर्ने गरेको गुनासो गरे।

सोही ठाउँकै निवासी रमेश भट्टले भारतीय प्रहरीले देख्ने बितिक्कै कुटपिट गरिरहेकोले आफूहरु एउटा होटेलको कुनामा लुकेर बसेको जानकारी दिए।

'अलपत्र परेका नागरिक भारतीय प्रहरीको डरले, महाकाली नदी किनारको जंगलमा लुकेर बसेका छौँ', उनले भने, 'भारतमा लकडाउनका कारण होटल बन्द रहेकोले तीन दिनदेखि भोकभोकै बाहिरै सुत्ने गरेका छौँ।'

भोकभोकै जंगलमा खुल्ला सुत्नुपर्दा झन् बिरामी चिन्ता उनीहरुको छ। यस्तो अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय तथा जनप्रतिनिधिहरूले आफूहरूलाई नेपाल पुर्‍याउन पहल नगरेको भन्दै उनीहरूले आक्रोस व्यक्त गरेका छन्।    

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने भारतको झुलाघाटमा अलपत्र नागरिकको उद्धारका लागि पहल भइरहेको बताए। दुई दिनदेखि भारतको पिथौरागढ जिल्लाका प्रमुख अधिकारी (डिएम) लाई बन्द गरिएको नाका खोल्न आग्रह गरिएको बताए।

जिल्ला प्रशासन कार्यालय बैतडीले दुबै देशले सीमा नाका बन्द गरेकोले कुनै एक देशले चाहेर मात्रै नाका खोल्न सम्भव नभएको जनाएको छ।

बन्द नाका खोल्नका लागि ढिलाई हुँदा धेरै नागरिक असुरक्षित रुपमा महाकाली नदीमा ट्युबको सहायताले नेपाल फर्केका पाइएको छ। 

६४ जनाको उद्धार

‘लकडाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ। बैतडीको एकमात्र नाका झुलाघाट बन्द भएपछि ट्युबको सहायताबाट नेपाल आएका उनीहरूको उद्धार गरिएको हो।

खोचलेक प्रहरी चौकीका इञ्चार्ज शंकरदत्त भट्टले दोगडाकेदार गाउँपालिका, खोचलेक प्रहरी चौकी र दोगडाकेदार गाउँपालिका वडा नं ४ को संयुक्त पहलमा उनीहरूरुको उद्धार गरिएको जानकारी दिए। महाकाली नदीमा ट्युबवाट आएका बझाङ, डोटी र बैतडीको सिगासका स्थानीय बासिन्दाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए।

लकडाउनपछि नेपाल छिरेका नागरिकहरू दोगडाकेदार गाउँपालिका ४ को बसाली क्षेत्रमा अलपत्र परेका थिए। ४२ जनाको बुधबार राति २२ जनाको बिहीबार उद्धार गरिएको छ। दोगडाकेदार ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद भट्टले उनीहरूलाई जीप, टिपर र ट्रकमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको बताए। उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने जानकारी भट्टले दिए।

स्थानीय प्रशासनले भने ‘लकडाउन’का बेला असुरक्षित रुपमा ट्युबको माध्यमबाट नआउन आग्रह छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell