काठमाडौं : देशका विभिन्न क्षेत्रमा रहेका तीन सय पाँच जना युरोपेली नागरिक आज कतार एयरवेजको चार्टर उडानमार्फत् स्वदेश फर्केका छन्।
जर्मन दूतावास र सरकारको समन्वयमा शुक्रवार कतार एयरवेजको जहाजमार्फत् तीन सय जना विदेशी नागरिकलाई फर्काइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए।
उनका अनुसार बाँकी विदेशीलाई शनिबारको चार्टर उडानमार्फत् स्वदेश फिर्ता गराइनेछ।
आज चार्टर उडान मार्फत् फर्काइन लागेका विदेशी नागरिकलाई सरकारले मुस्ताङ, पोखरा, लुक्ला लगायत विभिन्न क्षेत्रबाट उद्दार गरेर ल्याएको हो। उनीहरुलाई एयरपोर्ट नजिकका होटलहरुमा राखिएको थियो।
विदेशी नागरिकलाई शुक्रवार कतार एयरवेजको क्युआर ३४६- डेल्टा कलसाइनको जहाजमार्फत् दोहा हुँदै फ्र्याङ्कफर्ट लैजाने छन्।
‘दोहाबाट डिस्इन्फेक्ट गरेर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको छ। यो चार्टर उडान दोहासम्म हुनेछ। दोहाबाट फ्र्याङ्कफर्ट चार्टर उडानका लागि उता अर्को जहाज स्ट्याण्ड बाइ राखिएको छ,’ कतार एयरवेजका एक कर्मचारीले भने।
आज उडान गर्ने यात्रु युरोपियन मुलुकका मात्र रहेका छन्। जर्मनी दूतावास र फ्रान्सेली दूतावासको समन्वयमा बाँकी तीन सय यात्रुलाई शनिवार पुनः कतार एयरवेजको चार्टर उडानमार्फत् फर्काउने तयारी रहेको विमानस्थलले जनाएको छ।