PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

सुर्खेतमा मुनाल गार्मेन्ट र देउती होजियारीले शुरु गरे पिपिईको उत्पादन



रासस

सुर्खेतमा मुनाल गार्मेन्ट र देउती होजियारीले शुरु गरे पिपिईको उत्पादन
प्रतीकात्मक तस्विर।

सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) को परीक्षण तथा संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)को सुर्खेतमै उत्पादन शुरु गरिएको छ। कर्णालीका सबै स्वास्थ्य संस्थाहरुमा पिपिईको अभाव भइरहेका बेला वीरेन्द्रनगरमा सञ्चालित मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले यसको उत्पादन शुरु गरेका हुन्।

पिपिईको अभावमा स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित बिरामीको उपचार गर्न डराउनुपर्ने अवस्थाले स्वास्थ्य संस्थाको सम्पर्कमा आएका ज्वरोका बिरामीलाई औषधि दिएर मात्र पठाउने गरिएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काठमाडौंमा हालसम्म उपलब्ध नभएको र विदेशबाट आउन समय लाग्ने भएकाले स्थानीयस्तरमै पिपिई तयार गर्न निर्देशन दिएको हो।

सामाजिक विकासमन्त्री दल रावल र प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा नवराज केसीसँग समन्वय गरेर पिपिई उत्पादन शुरु गरेको गार्मेन्ट सञ्चालकले जनाएका छन्। मुनाल गार्मेन्टका सञ्चालक भानुभक्त खड्काले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले प्रयोग गर्ने गरी तत्काललाई दुई हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) तयार गरिरहेको जानकारी दिए। लकडाउनका कारण कच्चा पदार्थ ढुवानीमा समस्या भएको उनको भनाइ छ।

‘हालसम्म २०० थान तयार गरिसकेका छौँ, प्रदेश अस्पतालका चिकित्सकको निर्देशनमा शतप्रतिशत गुणस्तरीय पिपिई तयार गर्दैछौँ,’ सञ्चालक खड्काले भने।

नेपाली सेनाका लागि आएको पिपिईको नमूना हेरेर कालिगडले स्वास्थ्यकर्मीका लागि पिपिई तयार गरिरहेका छन्।

प्रदेश अस्पतालका चिकित्सक डा केसीले पिपिई नहुँदा स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर कोरोना भाइरसको सम्भावित संक्रमण जाँच गरिरहेको बताए। यसअघि सुर्खेत उद्योग वाणिज्य संघको सहकार्यमा तयार गरिएका केही थान पिपिई बबई नाकामा खटिएका स्वास्थ्यकर्मीलाई प्रदान गरिएको थियो। पिपिई अन्तर्गत गाउनका साथै पञ्जा, मास्क, प्रोटेक्टिभ हेडसेटलगायतका सामग्री स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक मानिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell