PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

कोभिड-१९ को उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार



रासस

कोभिड-१९ को उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
Photo: Google.com/maps

भद्रपुर : झापाको बिएण्डसी टिचिङ हस्पिटल कोडिभ-१९ को उपचारका लागि राज्यलाई दिन तयार रहेको अस्पतालका सञ्चालकले घोषणा गरेका छन्। सञ्चालक दुर्गा प्रसाईंले आज विज्ञप्ति जारी गरी अस्पतालसँग कोभिड–१९ जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक पोशाक, पिपिई र किट्स नभएको बताउँदै सरकारीसरह राज्यले खर्च बेहोरेर सञ्चालन गरे आफू दिन तयार रहेको बताएका हुन्।

आठ सय साधारण शय्या, एक सय सघन उपचार कक्ष र २५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको हस्पिटलमा १०५ चिकित्सक छन्।

प्रसाईंले विज्ञप्तिमा भनेका छन् ,‘सरकारले मात्र उपलब्ध गराउने सक्ने किट्स र जाँच उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरणहरु, पिपिई सेट उपलब्ध नभएका कारण हामी यो उपचार गर्न र परीक्षण गर्न सकिरहेका छैनौंँ, सरकारले यो विषम परिस्थितिमा कोरानाको उपचार र परीक्षणका लागि यो हस्पिटल उपयोग गर्न चाहन्छ भने हामी दिन तयार छौं।’

प्रसाईँले अस्पतालको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० शय्याको क्वारेन्टाइन बनाउन सकिने बताए। झापा, इलाम, पाँचथर र ताप्लेजुङका २५ लाखभन्दा बढी मानिसले उपचार सेवा लिन सक्ने हस्पिटलमा कोराना भाइरसको उपचार गरिनुपर्ने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत माग गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell