रातको तीन बजे मोबाइलमा रिङटोन बजेपछि बिउँझिए। स्क्रिनमा दिदीको नाम देख्दा मन आत्तियो। आखिर मध्य रातमा के पर्यो र फोन गरिन् होला? जुरुक्क उठें र डरैडरबीच बोलें - हेलो।
दिदीले त सामान्य कुराकानीमा झै सिधैं सोधिन् - 'के छ हालखवर?'
'अँ सबै ठीकै छ।'
थाहा छैन उनले मेरो आवाजमा मिसिएको आश्चर्यभाव बुझिन् या बुझिनन्। रोक्किइनन्। एकपछि अर्को प्रश्न थप्दै गइन्। अन्तत: प्राय सबैलेझै सोधिन् - 'कोरोनाको हल्ला केकस्तो छ?'
'यहाँ त त्यही तीन जनामा कोरोना देखिएको त हो नि। एक जना ठीक भइसके। दुई जनाको उपचार भइरा'छ। नयाँ केस छैन', मैले यति बोलेर फोन राख्ने सुर कसे। किनकि निश्चित भइसकेको थियो - केही अप्रत्याशित घटना भएको छैन। कुरा नघुमाइ भनें,'ल पछि कुरा गरौंला म निद्रामै छु।'
फोन राख्ने कुरा गरेपछि बल्ल दिदी चुरो कुरोमा आइन्। भनिन्,'कोरोनाको औषधी पत्ता लाग्यो नि। थाहा पाउनु भयो?'
विश्वभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ हजार पुगिसक्यो। पाँच लाखभन्दा बढी संक्रमित छन्। विकसित राष्ट्रहरु औषधी पत्ता नलागेकै कारण सामाजिक दूरी कायम गरौं, हात धोऔं, सर सफाइमा ध्यान दिउँ, पटक पटक भनिरहेका छन्। संक्रमण फैलन नदिनु नै मुख्य उद्देश्य बनेको छ।
अनि यता नेपालको सुदुर गाउँकी दिदी, कोरोनाको औषधी पत्ता लाग्यो भन्ने खबर सुनाउँछिन्। अधैर्य भएरनै होला सायद् आधा रातमै फोन गरिन्। सायद उनलाई थाहा छैन उनको देशको राजधानीकै अस्पतालहरु कोरोना शंकास्पद् बिरामी राख्न पनि डराइ रहेका छन्। किनकि उनीहरुसँग पर्याप्त पूर्वाधार र सुरक्षा उपकरण छैनन्। कोरोना संक्रमितको जाँच र उपचार नै गर्ने स्वास्थ्य केन्द्रमा पनि अत्यावश्यक पीपीईको अभाव छ। हुन त दिदीलाई थाहा नहुनु समस्या होइन। किनकि हाम्रा स्वास्थ्य मन्त्रीलाई समेत दुई दिनअघिसम्म थाहा थिएन - आखिर के हो पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट?
म दिदीलाई यी तमाम तथ्य र जानकारी दिने अवस्थामा थिइँन। त्यसैले प्रतिप्रश्न गरे - 'कसले कता पत्ता लाएछन् औषधी?'
त्यसपछि दिदीले सुनाएको कथा फिल्मको प्लटजस्तै लाग्यो।
विहीबार राती दश बजे एक धामीले औषधी घोषणा गरे रे। उनले आम मानिसलाई भनेछन् - आफ्नो घरको आँगनमा रहेको कुनै ढुङ्गा पल्टाउनु। त्यहाँ केहीबेर खोस्रनु, कोइला फेला पर्छ। त्यही कोइला घोटेर निधारमा लगाउनु नै कोरोनाको उपचार हुनेछ।
जति नाटकीय सुनिएपनि यस्ता अन्धविश्वास सुदुर गाउँहरुमा जरा गाडेर बसेको छ। मेरो परिवार वा आफन्त यसबाट टाढा रहने कुरै भएन।
दिदीको परिवारले धामीको निर्देशन अनुरुप ढुङ्गा पल्टाएछन्। खोस्रदा कोइला भेटिएपछि धामीको कुरालाई बल मिल्यो। उनले निर्धक्क भनिन्,'हामी सबैले कोइला घोटेर निधारमा धर्का तान्यौं। अब कोरोनाले छुँदैन।'
उनले आफ्नो कुरा सुनाइनन् मात्र। हामीप्रति चिन्ता व्यक्त गरिन् र भनिन्,'तिमीहरु बसेको घरको आँगनमा पनि ढुङ्गा होला नि। यसो पल्टाएर हेर्नु है। कोरोनाको औषधी भेटिन्छ।'
उनको बोलीमा धामीप्रतिको विश्वास प्रष्टै थियो। आफूलाई भने पूरा घटना चिन्ताजनक लाग्यो।
तर सरल जवाफ दिएँ - 'यहाँ त ढुङ्गा माटो छैनन्। सिमेन्टको आँगन छ।'
कन्क्रिट समस्याको समाधान पनि दिएका रहेछन् धामीले। भनिन् - घरबाट बाहिर मुल ढोकामा निस्कनु। अनि घरतिर फर्किएर दायाँ खुट्टा दैलोमा टेक्नु। एक मिनेटसम्म आफ्ना देवी देवतालाई सम्झेर दैलोमा हेरिरहनु। त्यसपछि आँगनमा नजिक भएको सानो ठूलो ढुङ्गा पल्टाउँदा पक्कै कोइला भेटिन्छ।
यतिन्जेल मेरो निद्रा बिथोलिइ सकेको थियो। तर दिदी त ननिदाइ सपना देखिरहेकी थिइन्। सपना साटिरहेकी थिइन्। त्योपनि विश्वव्यापी माहामारी कहलिएको कोरोना भाइरसको उपचार बारे।
तर, त्यसरी सपना देख्ने र खोज्नेहरुको त भिड नै रहेछ गाउँमा। सबै रात रातभर कोइला नभेटिउन्जेल घरको पिँढीदेखि आँगनसम्म खोस्रदै रहेछन्। कतिले चार वटा ढुङ्गा पल्टाउँदा समेत कोइला नभेटेको चिन्ता पनि मेरै दिदीको थाप्लोमा परेको रहेछ। दु:खी हुँदै सुनाइन्।
दिदीको आधा घण्टा लामो गनथनपछि मैले घरमा रहेका आमाबुबालाई फोन गरें। उहाँहरु मस्त निद्रामा हुनुन्थ्यो। तर पनि मनको खुल्दुली मेट्नु थियो। तर उहाँहरुलाई त यस विषयमा थाहा नै रहेनछ। उल्टै दिदीले भनेको कथा सुनाएपछि जाराक् जुरुक् उठ्नु भयो र भन्नुभयो - ल फोन राख् म कोइला खोज्न गएँ।
हरे, बेक्कार फोन गरेछु!
उहाँहरु सायद् ढुङ्गा पल्टाउन थाल्नु भयो। आफू भने मस्त निदाएँ। बिहान ७ बजे कार्यालयका साथीहरु कीर्तिपुर नै आइपुग्नु भयो, मलाई लिन। गाडीमा राती आएको त्यो फोन र कोरोनाको उपचार बारे सुनाएँ। उहाँहरु मस्त हाँस्नु भयो। ऋषिकेश सरले त ब्लग लेख् केटा भनेर सुझाव नै दिनु भयो।
अन्धविश्वासको प्रचार कति उचित? आफैसँग प्रश्न गरें। कार्यालय आइपुगेपछि त अरु नै काममा व्यस्त भैयो। तर, व्यस्तताबीच पटक पटक बजेको फोनको घण्टीले नलेखी बस्न दिएन।
ती सबै घण्टी त्यही धामीले पत्ता लाएको कोरोनाको उपचार बारे जिज्ञासा बोकेर बज्थे।
कोठामा रहेकी श्रीमतीले साढे ८ बजे फोन गरिन्।
'घरमा कोइला भेटाए रे नी !', उनको बोलिमा खुशी र व्यङ्ग्यको भाव प्रष्ट बुझें। उनले थप जानकारी दिइन् -धनगढी, पहलमानपुर, रतिपुर, टिकापुर (कैलाली जिल्लाका गाउँहरु) सबैतिर यो हल्ला हिजो राती देखिनै थियो रे। अनि सबैले कोइला भेटेर टिका पनि लगाएका रहेछन्। केहीले त कालो टिका लगाएको फोटो फेसबुकमा राखेर कोरोना भाइरसको औषधी भेटिएको भन्दै उत्सव मनाइ रहेका रहेछन्।
अनि अँ रोचक त के भने, धामीले पत्ता लगाएको त्यस कथित औषधीको 'एक्सपाइरी डेट' समेत रहेछ। आज (शुक्रबार) दिउँसो १२ बजेसम्ममा आँगन खन्नेले मात्र त्यो कोइला भेट्ने रे!
राती दिदीले भनेको सम्झिएँ - तत्काल उठेर ढुङ्गा पल्टाउ। बिहानदेखि भेटिँदैन भनेका छन् धामीले।
सायद धामीले नै 'टाइम एक्सटेन्ड' गराइदिए।
मेरा लागि त व्यङ्ग्यात्मक त के रह्यो भने, सबैले पालैपालो फोन गरेपछि श्रीमतीले पनि त्यो ओखती उत्खननको प्रयास गरिछन्। कोठा छेउ निर्माण कार्य भइरहेको ठाउँमा गएर ढुङ्गा पल्टाउँदा कालो वस्तु फेला पारिन् रे। आफ्नो निधारमा त लगाइन् नै मेरा लागि पनि राखेकी छिन् भन्ने चाल पाएँ। मनमनै यस्तो अफवाह फैलाउने धामीलाई बधाई दिएँ। उनले कोरोनाको कहरबीच हानेको बल्छि ठाउँमा पर्यो। अनि उनको धन्दा सुदुर र मध्य पश्चिम हुँदै काठमाडौंसम्मै बिस्तार भयो।
मानिसको विश्वासमा न प्रश्न गर्नु न कुनै जवाफ नै दिनु। श्रीमतीले नै कोशिश गरिसकेपछि भने यो ब्लग नलेखी रहन सकिँन। थाहा छैन अब कतिन्जे यो खबर कहाँबाट कहाँसम्म पुगिरहन्छ।
मलाई भने कोरोना भाइरसविरुद्धको औषधी भन्दै गाइको गोबर र गहुत खानेदेखि यशुको महिमा गाउँदा कोरोना भाग्छ भन्दै प्रचार गर्ने पास्टर पक्राउ परेको घटनाहरु झल्झल्ती भइरहेको छ।