काठमाडौं : सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म ११ करोड ७६ लाख रुपैयाँ जम्मा भएको छ। सरकारले गत सोमवार कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अहिलेसम्म ११ करोड ७६ लाख रुपैयाँ जम्मा भएको जानकारी दिए। उनका अनुसार कोषमा अझै २० करोड रुपैयाँ पनि आउने क्रममा रहेको छ।
सरकारले कोषमा रकम जम्मा गर्ने भनेपछि सांसद, कर्मचारी, उद्योगीले योगदान गरिरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकम उक्त कोषमा जम्मा गरिसकेका छन्।
यसैगरी राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीन दिनको तलव बराबरको तलव कोषमा जम्मा गर्ने भएका छन्। गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो।