PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लकडाउनका कारण ड्राइपोर्ट भन्सारमै थुप्रियो भारतबाट आएका २५ सय बढी कन्टेनर



राधेश्याम पटेल

लकडाउनका कारण ड्राइपोर्ट भन्सारमै थुप्रियो भारतबाट आएका २५ सय बढी कन्टेनर

वीरगंज : सरकारले गत मंगलवारदेखि साताभरीको लागि देशव्यापी लकडाउनको घोषणा गरेपछि वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह पूर्णरूपमा ठप्प भएको छ। भारतको कोलकाता र विशाखापट्टनमबाट मालबाहक रेल आउने क्रम जारी रहेकोले करिब २५ सय भन्दा बढी कन्टेनर बन्दरगाहमा थुप्रिएको छन्। सुक्खा बन्दरगाह भन्सारमा मंगलवार बिहानदेखि क्लियरिङ ऐजेन्ट, व्यवसायी तथा सवारी चालकलगायतको चहलपहल घटेको छ।

सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भारतबाट मालसामान लिएर रेल आए तापनि नेपालतर्फ लकडाउन रहेकोले मालसामान छुटाउन व्यवसायी नआएको बताए। उनले यस्तै अवस्था रहिरह्यो भने आगामी दिन सामान आयात र राजस्व संकलनमा पनि असर पर्ने बताए।

मंगलवारदेखि उद्योग कलकारखाना पनि बन्द भएकाले व्यवसायीहरू मालसामान छुटाउन नआएको उनको अनुमान गरिएको छ। चैत मसान्तमा सुक्खा बन्दरगाह भन्सारले ३ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य लिएकोमा चैत १० गतेसम्म ४२ दशमलव ७७ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको प्रमुख भन्सार अधिकृत श्रेष्ठले जानकारी दिए।

उनले भन्सार कार्यालय चालु आर्थिक वर्षको साउनदेखि असारसम्म १२ महिनामा ४१ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य लिएकोमा विलासी गाडी, औद्योगिक कच्चा पदार्थ, फलामजन्य वस्तुको आयात घटेको कारण लक्ष्यअनुरूपको राजस्व संकलन नभएको बताए। श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले फागुनसम्म ८ महिनाको अवधिमा २६ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

भारतबाट कन्टेनर नियमित आइरहेको र सुक्खा बन्दरगाहको यार्डबाट कन्टेनर नउठेमा यार्डमा कन्टेनर थुप्रिने सम्भावना बढेको भन्सार अधिकारीले बताएका छन्।

भन्सारका एकजना अधिकारीले भने, ‘भारतबाट अहिले दैनिक दुईदेखि तीनवटा रेल कन्टेनर लिएर आइरहेका छन्, एउटा रेलमा २० फुटको ९० वटा कन्टेनर लोड हुन्छ, यदि नेपालमा लकडाउन लम्बियो भने यार्डमा कन्टेनर राख्ने ठाउँ हुँदैन।’

भन्सार अधिकारीका अनुसार कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट विभिन्न मालवस्तुको कन्टेनर लिएर २२ वटा रेलवे ¥याक वीरगंज आइरहेको तर नेपालमा लकडाउन लगाइएकोले एक सातापछि सुक्खा बन्दरगाहमा समस्या उत्पन्न हुने अनुमान गरिएको छ। अधिकारीहरूले भन्सारमा आउने व्यवसायी, एजेन्ट र ट्रक चालकहरूको लागि नीतिगत निर्णय गरी मालसामान छुटाउने वातावरण बनाउनेतर्फ राज्यले सोच्नुपर्ने सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell