बिहान बिहानै फेसबुकमा एउटा सन्देश आयो। अंग्रेजीको उक्त सन्देशको भावानुवाद गर्दा यस्तो थियो - 'एउटा चिनियाँ विज्ञले दाबी गरेका छन् कि यदि तपाईँको फोक्सो, नाक, र श्वास नलीमा कोरोना भाइरस छ भने, तातो पानीले बाफ लिए कोरोना भाइरस शत् प्रतिशत मर्छ। भाइरसले तातो पानीको बाफ सहन सक्दैन। कृपया यो सन्देश तपाईँको पेजमा शेयर गर्नुस र धेरै मात्रामा शेयर गर्नुस्।'
कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा यस्तै सन्देशहरुले फेसबुक म्यासेन्जर भरिएको छ। घरी लैलाका नाममा कागतीका तीन टुक्रा हालेर मनतातो पानी खानुस् कोरोना निको हुन्छ भन्ने सन्देश आउँछ। घरी पानी नियमित खानुस् कोरोनाबाट उन्मुक्त हुनुस् भन्दै।
ख्याल गर्नुस् - नयाँ कोरोना भाइरस (कोभिड-१९) को अहिलेसम्म पत्ता लागेको कुनै पनि ठोस उपचार छैन। वैज्ञानिकहरु कोभिड-१९ को उपचार, औषधी र भ्याक्सिन पत्ता लगाउन प्रयोगशालामा भिडिँरहेका छन्। अर्कातर्फ लगातार रुपमा कोभिड-१९ भन्दा पनि बढ्दो रुपमा 'सूचना संक्रमण (इन्फोडेमिक)' फैलिरहेको छ।
अहिले सामाजिक सञ्जालमा गलत सूचना र उपायहरु फैलिरहेका छन्। कोभिड-१९ विरुद्धको लडाई भन्दा पनि सामाजिक सञ्जालमा फैलिएको इन्फोडेमिक तथा गलत सुझावहरु विरुद्धको लडाई थप कठिन बन्दै गएको छ।
त्यस्तै युनिसेफको नाम दिँदै सामाजिक सञ्जालमा एउटा गलत सुझाव सहितको सन्देश भाइरल भयो। घामको किरणले कोरोना भाइरस मार्छ, आइसक्रिम नखानुस्।
We would like to inform our audiences that the news below attributed to UNICEF is fake. UNICEF Cambodia is NOT the author of this post. Stay informed by following UNICEF official platforms.
— UNICEF Cambodia (@UNICEFCambodia) March 5, 2020
For more information on #coronavirus, go to https://t.co/9F30DkELad pic.twitter.com/T0zXMYpMGS
त्यसपछि, युनिसेफका प्रवक्ता क्रिस्टोफर टिडेइले भनेका छन्-'यो कुनै पनि हालतमा सत्य होइन।'
'स्वस्थ्यको विपत्तिमा फैलिने यस्ता सन्देशले मानिसलाई थप जोखिममा पुर्याउँछ,' उनले भनेका छन्, 'यसले डर त्रास फैलाइरहेको छ। सर्वसाधरणलाई गलत सूचना प्रवाह गरिरहेको छ।'
त्यस्तै, स्यानिटाइजर भन्दै रक्सी खाएर शरीरलाई स्यानिटाइज गरिरहेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कोभिड-१९ को संक्रमण बढ्दै जाँदा स्यानिटाइजरको अभाव पनि बढ्दै गएको छ। स्यानिटाइजरको अभाव बढ्दै जाँदा घरमै बनेको स्यानिटाइजर भन्दै सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ। घरमै स्यानिटाइजर बनाउन सकिने भन्दै अनाधिकृत रुपमा प्रचार गरिएका छन्।
वैज्ञानिकहरुले यसरी बनाइएका स्यानिटाइजर मानिसको स्वास्थ्यका लागि अनुकूल नभएको र छालालाई असर गर्ने बताएको बीबीसीले जनाएको छ।
लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनकी प्राध्यापकलाई विश्वास छैन कि कसैले घरमै प्रभावकारी रुपमा ह्याण्ड स्यानिटाइजर बनाउन सक्छन्। किनकि आफैमा भोड्कामा पनि ४० प्रतिशतको हाराहारीमा मात्र अल्कोहलको मात्रा हुन्छ। अल्कोहल बेस स्यानिटाइजरमा इमोलिसेन्ट हुन्छ जसले छालालाई सहज बनाउँछ। र, यसमा ६०-७० प्रतिशतसम्म अल्कोहलको मात्रा हुन्छ।
यस्ता, सामाग्रीहरु घरका भित्ता तथा भुँई सफा गर्न प्रभावकारी होलान तर, मानिसको शरीरमा प्रयोग गर्न हानिकार भएको अमेरिकी रोग नियन्त्रण केन्द्रले बताएको छ।
त्यस्तै, सामाजिक सञ्जालमा अर्को भाइरल भइरहेको सन्देश हो- 'मनतातो पानीले कुल्ला गर्नु कोरोना निको हुन्छ।'
भिनेगर वा नुन हालिएको मनतातो पानीले मुख कुल्ला गर्नु भन्ने सन्देशमा कुनै सत्यता देखिँदैन्। यसले तपाईँको घाँटी सफा त गर्ला तर कोरोना भाइरसलाई नै निको पार्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन।
त्यस्तै, अर्को सुझाव भनेको नियमित पानी पिउनुस्।
जापानमा कोभिड-१९ विरुद्धको लडाईमा संलग्न चिकित्सकहरुको सुझाव भन्दै सामाजिक सञ्जालमा- 'कम्तिमा १५/१५ मिनेटमा पानी खानुस् त्यसले तपाईँको घाँटीमा रहेको भाइरसलाई पखालेर पेटसम्म पुर्याउँछ। पेटमा हुने एसिडले भाइरसलाई मार्छ।'
फेसबुकमा भाइरल भइरहेको पोस्टलाई अहिले फेसबुकले गलत सूचना भन्दै फिल्टर गर्न थालेको छ।
सामाजिक सञ्जालमा अर्को भाइरल भइरहेको सन्देश हो हेन्ड ड्रायर। कोरोना भाइरस तातो तापक्रममा मर्ने भन्दै हेन्ड ड्रायर र हेयर ड्रायर प्रयोग गर्न सुझाव दिएका छन्। मुखमा ड्रायर प्रयोग गरे भाइरस मर्छ भन्ने गलत सूचनालाई पत्याउँदै मानिसहरु यसको प्रयोग गर्न थालेका छन्।
विश्व स्वास्थ्य संगठनले ड्रायरले भाइरस नमर्ने बताइसकेको छ। त्यसैले डब्लुएचओले हात स्यानिटाइजरले धुन सुझाव दिएको छ। हात धोइसकेपछि भने हात सुकाउन ह्याण्ड ड्रायर प्रयोग गर्न सकिन्छ।
अर्को भाइरल भइरहेको सन्देशहरु कोलोइडल स्लिभर। यो सन्देश अमेरिकाको जिम बाकर्स सो मै प्रवर्द्धन गरियो। कार्यक्रममा सहभागी एक अतिथिले यसको प्रयोगले १२ घण्टामै कोरोना भाइरस निको हुने दाबी गरे। सामाजिक सञ्जालमा यो सन्देश भाइरल भयो।
यस विषयमा पनि वैज्ञानिक अनुसन्धान भइसकेको छ। यसको प्रयोग उपचारका क्षेत्रमा केही प्रयोग पनि हुने गरेको छ। जस्तो कि घाउमा ब्यान्डेज लगाउँदा प्रयोग हुन्छ। यसको मतलब यो होइन कि यसले कोरोना भाइरसको उपचार हुन्छ।
अमेरिकाका स्वास्थ्य अधिकारीले यस्तो गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने चेतावनी दिइसकेका छन्। यसले किड्नी ड्यामेज गर्न सक्छ।
अब के गर्ने त?
'यस्तो अवस्थामा बैज्ञानिक तथ्यका आधारमा आफ्नो तयारी गर्नुहोस्,' युनिसेफका प्रवक्ता टिडेइ भन्छन्। विश्व स्वास्थ संगठनले भाइरस विरुद्ध लड्नका लागि सामाजिक दुरी कायम गर्न अनुरोध गर्दै गाइडलाइन नै तयार गरेको छ।
भाइरससँगको संक्रमणबाट जोगिनका लागि आफ्नो मुहारमा नछुनुहोस्। तपाईँले आफूलाई संक्रमणबाट बच्नका लागि हाछ्यु गर्दा मुख छोप्नुहोस्। सकेसम्म घरमै बस्नुहोस्। विश्वका अधिकांश देशले कोभिड-१९ को संक्रमण रोक्नका लागि लकडाउन गरिरहेका छन्। यसलाई पालना गर्नुहोस्।
विश्व स्वास्थ्य संगठनले टेक कम्पनीहरु गुगल, फेसवुक, ट्विटरलगायतसँग इन्फोडेमिकसँग लड्न सहकार्यसमेत गर्दै आएको छ। यदि तपाईँलाई सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण भइरहेको छ भन्न लाग्छ भने त्यसलाई रिपोर्ट पनि गर्न सक्नुहुन्छ।