काठमाडौं : उनीहरु रात पर्न कुरिरहेका हुन्छन्। रात परेपछि माथितिरबाट आउने पानीको करेन्ट घट्छ। त्यसपछि आशा पलाउँछ देश पुग्ने।
काठमाडौंबाट सबैभन्दा दुरको कथा हो यो - दार्चुलाको। मुलुककै सबैभन्दा दुर्गम मानिन्छ सुदूर पश्चिम। सूदुर पश्चिमको पनि दुर्गममा हो दार्चुला। महाकाली नदीले भारत र नेपालको सीमा रेखा तय गरेको छ यहाँ। लकडाउनका कारण अलपत्र परेपछि मानिसहरु राति महाकाली नदीमा होमिँदै नेपालतिर छिर्ने धुनमा छन्।
भारतका गाउँहरुमा काम गर्न गएका नेपाली फर्किँदा फर्किँदै लकडाउनको यसरी सिकार भए कि खोलाको पानीको प्रवाह उनीहरुको जीवन मरणको सवाल बनिरहेको छ।
दार्चुलाको सदरमुकाम खलंगादेखि १४ किलोमिटर उत्तरतिर महाकाली नदीमा भारतबाट आउने नदी धौलीगंगा मिसिन्छ। त्यही धौलीगंगामा भारतले २ सय ८० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्छ। बिजुली उत्पादन गर्दा राति धौली गंगा थुन्ने चलन छ। जब ड्याम भरिन्छ, पानी खोलिन्छ। महाकाली नदीमा पानीको करेन्ट यसैले निर्धारण हुन्छ। यसरी धौलीगंगा थुनेको बेला महाकालीमा पानीको मात्रा घट्छ अनि अलपत्र हुनेहरु पौडिएर मातृभूमितिर बाँकटे हान्न थाल्छन्।
तर, सबै महाकाली नदीमा पौडिएरै किन पार लगाउन सक्थे र?
अलपत्र परेर केही सीप नलाग्ने भएपछि सक्नेहरु जोखिम मोल्दै नदीको प्रवाहसँगै पैठेजोरी खेल्न तयार हुन्छन्।
'युवाहरु पौडी खेलेरै नेपालतर्फ आउने गरेका छन्। पौडी खेल्न नसक्ने चाहिँ भारततिरै अलपत्र', एक स्थानीयले भने।
नेपालतिर बसेकाहरु पनि त्रासमा छन् - भारतबाट आउनेले कोरोना त भित्र्याउँदैनन्? तर, आएकालाई सोध्न पनि सक्दैनन्। त्यसैले पौडी खेलेरै नेपाल आइपुगेकाहरु कता गए जानकारी छैन।
'पौडी खेल्न नजाने डुबेर मर्ने स्थिति छ, क्वारेन्टाइनमा नबसे कोरोनाको झन् बढी खतरा', उनले भने।
'तीन दिनदेखि हामी पुलको ढोका खोलिदिन सुरक्षाकर्मीसँग हार गुहार गर्दै आएका छौँ,' बाँके कोहलपुरका तप्त रोकायाले भने, 'सुरक्षाकर्मीको उल्टै हप्की दप्की खानु परेको छ, हामी तीन दिनदेखि भोकभोकै बस्न बाध्य छौँ।'
यसरी अलपत्र पर्ने अधिकांशलाई नेपाल र भारतमा लकडाउन गरिएको थाहा छैन।
'हामी भारतको दुर्गम भेगमा मजदूरी गर्दै आएका थियौँ, सीमामा के कसो हुँदैछ भन्नेबारे थाहै भएन,' रोकायाले भने। उनले भोकै बस्नु परेका कारण तथा चिन्ताले धेरै नेपालीको स्वास्थ्य अवस्था बिग्रेको बताए। खलंगा नाका भएर घर फर्कने नेपालीको संख्या बढ्दै गएको छ। कतिपय त स–साना नानी तथा जहानसहित त्यहीँ अलपत्र छन्।
नेपालमा भन्दा भारतीय क्षेत्रमा लकडाउनको अवस्था कडा छ। भारतीय प्रहरीले नेपालीलाई सडकमा समेत बस्न नदिएको खलंगाका एक बासिन्दाले बताए।
'सबैलाई खेदेर नदी किनारमा जम्मा पारेर राखेको छ,' उनले भने, 'उद्धारका लागि नदी पारीबाट चिच्याउने गरेका छन्। उनीहरुको अवस्थाले खलंगावासीलाई समेत दु:खित तुल्याएको छ, तर हामी सहयोग गर्न सक्ने अवस्थामा छैनौँ।'
कोरोना भाइरसको त्रासले भारतको विभिन्न ठाउँबाट घर फर्केका नेपालीको दार्चुला सदरमुकाम खलंगासित जोडिएको भारतीय सीमा क्षेत्रमा बिजोग छ। एक सय ६४ जना नेपाली तीन दिनदेखि भारततिरको महाकाली नदी किनारमा छन्। सीमा नाका धारचुलामा रहेको झोलुङ्गे पुलमा ताल्चा लागेको छ अहिले। दार्चुला, बैतडी, डोटी, बझाङ, कैलाली, बाजुरा, बाँके र जाजरकोटदेखिका मानिस छन्, अलपत्र पर्नेमा। दार्चुलाको नौगाड गाउँपालिकाका ७२, मार्मा गाउँपालिकाका ४८, महाकाली नगरपालिकाका ६, लेकम गाउँपालिकाका दुई तथा मालिकार्जुन गाउँपालिकाका एक जना रहेका छन् पारी। यस्तै, अलपत्र पर्ने अन्यमा बैतडीको डिलासैनी गाउँपालिकाका १५, बझाङको बुङ्गलका ४, बाजुराका २, कैलालीको लम्की चुहाका ४, बाँके कोहलपुरका ३ र जाजरकोटका ९ जना रहेका छन्।
सरकारले भारतबाट नेपाल फर्काउन पहल नगर्दा उनीहरु नदी किनारामा रहन बाध्य छन्। नभए झुक्याएर महाकाली नदीमा हामफाल्दै बाँकटे हान्न। नेपाल र भारतलाई जोड्न डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न ठाउँमा महाकाली नदीमा झोलुङ्गे पुल छ। लकडाउन पछि ती सबै पुलमा भोटे ताल्चा लगाइएको छ। दुवैतर्फ सुरक्षाकर्मी तैनाथ गरिएको छ र सरकारले अनुमति नदिउको भन्दै प्रवेशमा निषेध छ।
भारतमा धारचुला बजार बन्द छ। भारतीय प्रहरीले कसैलाई पनि घर बाहिर निस्कन दिएको छैन। त्यसैले अलपत्र परेका नेपालीले किनेर समेत खान पाएका छैनन्। स्थानीय प्रशासन केन्द्रको मुख ताकेर बसेको छ।
७८ जना छिराउँदा सिडिओ तनावमा
कदम्, नेपाल आउन दिने हो भने उनीहरुलाई कहाँ राख्ने भन्ने अन्योल छ। केही दिनअघि यसरी नै अलपत्र परेका ७८ नेपालीको स्थानीय प्रशासनले मध्यरातमा भारतबाट उद्धार गरेको थियो। स्थानीय र अलपत्र परेकाहरुका आफन्तको दबाबपछि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उनीहरुको उद्धार गरेका थिए। त्यसयता यसरी उद्धार गर्ने प्रमुख जिल्ला अधिकारी पौडल निकै तनावमा रहेको श्रोतले बतायो।
'उद्धार गरिएका ७८ जना कहाँ छन् भनेर गृह मन्त्रालयले सिडिओलाई स्पष्टिकरण सोधेको सोध्यै छ,' श्रोतले भन्यो, 'सिडिओसित यसको कुनै जवाफ छैन।’
मध्यरातमा उद्धार गरिएका नेपालीहरु त्यही राति आ–आफ्नो घर कुलेलाम ठोकेका थिए। उनीहरुको ठेगाना र अवस्थाबारे स्थानीय प्रशासन अहिलेसम्म अनभिज्ञ छ। यसरी उद्धार गरिएकाहरुलाई क्वारेन्टाइनमा नराखेको भन्दै आलोचना भएपछि गृह मन्त्रालयले सिडिओसँग यसको जवाफ मागेको हो। त्यसैले एक पटकको उद्धारले फसादमा परेका दार्चुलाका सिडिओ हाल भारतमा अलपत्र रहेका नेपालीको समस्या सुनवाई गर्ने पक्षमा छैनन्। उद्धार गरेपछि उनीहरुलाई कहाँ राख्ने भन्ने सिडिओलाई चिन्ता छ।
नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्रप्रसाद बडूले भारतमा अलपत्र परेका नेपालीलाई सरकारले तत्काल उद्धार गर्नुपर्ने बताए। भारतको विभिन्न ठाउँबाट फर्केकालाई स–सम्मान घर पुग्ने व्यवस्था गर्न उनले सरकारसँग माग पनि गरेका छन्।
'मैले उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृह सचिव महेश्वर न्यौपानेसित उद्धारका लागि माग गरेको छुँ,' उनले भने। भोकै बस्नु परिरहेकाले अलपत्र परेकाहरुको ज्यान खतरामा रहेको बडूको भनाइ थियो। दार्चुला र बैतडीका सिडिओले समेत उद्धारको पहल गर्नुपर्ने उनले बताए।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भारतमा अलपत्र परेकाहरुको उद्धारको पहल भइरहेको बताए।
'मैले मन्त्रालयमा कुरा गरेको छु, नेपाल फर्काउनेबारे भारतीय पक्षसित पनि कुरा भइरहेको छ', प्रजिअ पौडेलले भने।