PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लकडाउनका कारण रित्तियो नाम्लो, प्रभावित भरियाले पाए राहत

लकडाउनका कारण रित्तियो नाम्लो, प्रभावित भरियाले पाए राहत

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलदो त्रासबीच सरकारले तीव्र गतिमा सावधानी अपनाउन शुरु गर्‍यो। सुरुमा स्कूल, कलेज धमाधम बन्द भए। एसइई परीक्षा समेत स्थगित भयो। त्यसपछि मानिसहरु उपत्यका छाड्न थाले। उपत्यका बजारहरुमा मानिसको चाप कम हुन थाल्यो। बजार शून्य हुन थाल्यो। र, व्यापार व्यवसाय ठप्प।

जसको प्रत्यक्ष मारमा परे - दैनिक ज्याला मजदुरी गरी खानेहरु। जो दिनभर काम गरेर साँझ चुल्हो बाल्छन्।

सामाजिक सञ्जालमा तिनै मजदुरहरुको जीवनमा मंगलबारदेखि लागू भएको लकडाउनले पार्ने प्रत्यक्ष प्रभावका बारेमा प्रश्न उठे। अनेक टिक टिप्पणी भए।

यसैबीच सहारनीय निर्णय गर्‍यो काठमाडौं महानगरपालिकाले - मजदुरी गरी जीवन चलाउने र सडक मानवका लागि राहत उपलब्ध गराउने। महानगरले प्रतिवद्धता जनाएको राहत पाउनुअघि असन, इन्द्रचोक, वसन्तपुर, न्यूरोड आसपासका होलसेल र रिटेलरको भारी बोकेर जिविकोपार्जन गर्दै आएका भरियाहरुले केही रकम र खाद्यान्न सहयोग स्वरुप प्राप्त गरे। उनीहरुलाई शुक्रबार नीता राउत फाउन्डेसनले सहयोग गरेको हो।

'माहामारी फैलन नदिन लकडाउन भयो। तर, सरकारको यस निर्णयका कारण धेरै मजदुर भोकै रहन पर्ने अवस्था आयो। जोसँग दिनभर काम नगर्दा रासन किन्ने जोहो हुँदैन उनीहरुले के गर्लान्? त्यही समस्या सम्बोधनका लागि सानो प्रयास गरेकी हुँ', समाजसेवी एवं पत्रकार नीता राउतले भनिन्। उनले ज्याला मजदुरीहरुको दैनिकीमा ठप्प बजारले पारेको असर बारे समाचार एवं जनचासो देखेपछि सहयोग अभियान थालेको बताइन्।

शुक्रबार १४ जना भरियाहरुलाई राहत रकम साथै दैनिक खाद्यान्न चामल, दाल, चिउरा, तेल, नुन, चाउचाउ आदि उपलब्ध गराएकी हुन्। जसका लागि दोलखाकी पद्मा प्रधानले समेत सहयोगको हात अघि बढाइन्।

लकडाउनका कारण कम भरिया राहत लिन उपस्थित भए।

यसरी विश्वव्यापी माहामारी कोरोना भाइरसका कारण रित्तिएको नाम्लो र भोकाएको पेटलाई केही राहत प्रदान भएको छ। नीता राउत चाहन्छिन् नगरपालिकाले घोषणा गरेको सहयोग सक्दो चाँडो उपलब्ध गराओस्। साथै उनी स्वयं पनि अवस्था सामान्य नभएसम्मका लागि थप सहयोग जुटाउन लागि परेकी छिन्। भन्छिन्,'आफ्नो ठाउँबाट सक्दो गरौं। यो एकअर्काका लागि गर्ने समय हो।'



ट्रेन्डिङ पोस्ट

Ncell