PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पर्सा राष्ट्रिय निकुञ्जमा सेना-शिकारीबीच गोली हानाहान, एक जनाको मृत्यु



राधेश्याम पटेल

पर्सा राष्ट्रिय निकुञ्जमा सेना-शिकारीबीच गोली हानाहान, एक जनाको मृत्यु
प्रतीकात्मक फोटो

वीरगंज : पर्सा राष्ट्रिय निकुञ्जमा शुक्रवार विहान साढे ९ बजे भएको गोली हानाहानमा परी मकवानपुर, हेटौडा नगरपालिका पदमपोखरीका भीमलाल मोक्तानको मृत्यु भएको छ । शिकारी समूहमध्येको अन्दाजी ३५ वर्षीय मोक्तानको नेपाली सेनाको गोली लागेर मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले उनको मृत्यु भएको पुष्टि गरे। वन्यजन्तुको चोरी शिकार गर्न करिब ११ जनाको शिकारीहरुको टोलीले नेपाली सेनालाई देखेर गोली चलाएको थियो।

त्यसकैको जवाफी फायरिङमा निकुञ्जको सुरक्षार्थ खटेका नेपाली सेनाको गोली लागेर उनको मृत्यु भएको र पोष्टमार्टमको लागि शव अस्पताल पठाइएको उनले बताए। सेनाको टोलीले शिकारीको आशंकामा मकवानपुरकै मोहनसिंह दोङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

निकुञ्जको कोर एरिया मानिने महादेव खोला नजिकमा शिकारी र सेना वीच गोली हानाहान भएको निकुञ्ज प्रशासनले जनाएको छ। सेनाले वन्यजन्तु मार्न प्रयोग गरिने २ वटा बन्दुक, बारुद, धारिलो हतियार बरामद गरेको छ भने
अन्य शिकारी समुह फरार भएको छ। कोरोनाको महामारी फैलिरहेको अवस्थामा वन्यजन्तुको चोरी शिकारी बढ्ने अशंकासहित निकुञ्ज प्रशासनले कडाई गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell