PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

नेपालमा हालसम्म चार जनामा कोरोनाको संक्रमण : चारै जना विदेशबाट फर्किएका



पहिलोपोस्ट

नेपालमा हालसम्म चार जनामा कोरोनाको संक्रमण : चारै जना विदेशबाट फर्किएका
Photo: Dado Ruvic/REUTERS

काठमाडौं : नेपालमा शुक्रवार थप एक जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमित व्यक्ति भेटिए। योसँगै नेपालमा संक्रमण देखिनेको संख्या चार पुगेको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार धनगढीका ३४ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको हो।

संक्रमित व्यक्ति चैत ११ गतेदेखि धनगढीस्थित सेती अस्पतालमा उपचाररत थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनी केही दिनअघि मात्र दुबईबाट फर्किएका थिए। कोरोनाको आशंका लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए।

त्यस्तै, चैत १२ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा रहेका एक बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। उनी पनि विदेशबाट नै फर्किएका व्यक्ति हुन्। युएईबाट आएका धादिङका ३२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो। उनी चैत ६ गते नोपाल आएका थिए। उनी नेपाल फर्किएपछि होटेलमा बसेको खुलेको थियो।

यसैगरी, कोरोना भाइरसको संक्रमित बनेकी १९ वर्षीय किशोरी पनि विदेशबाट नै फर्किएकी थिइन्। चैत ४ गते नेपाल आएकी उनी फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन्। कतार एयरलाइन्सको ६५२ विमानबाट नेपाल आएकी उनी चारदिनपछि कोरोनाको संक्रमण भएपछि अस्पताल पुगेकी थिइन्। उनी अहिले आइसोलेसनमा छिन्।

यस्तै, उनीसँगै विमानमा आएका अन्यको पनि खोजी भइरहेको छ। प्रहरी र प्रशासनको सम्पर्कमा आएकाहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ। बाँकी यात्रुलाई पनि सम्पर्कमा आउन आग्रह गरिएको छ।

त्यस्तै पहिलो पटक नेपालमा कोरोनाको संक्रमण देखिएका युवक पनि विदेशबाट नै फर्किएका थिए। उनी चीनबाट फर्किएका व्यक्ति हुन्। विश्वभर फैलिएको कोरोना भाइरस भित्रिन सक्ने आशंकामा सरकारले अहिले सबै देशका उडानहरु बन्द गरेको छ।

सरकारले रोक लगाएपछि पनि प्रतिबन्धित राष्ट्रबाट नेपाल फर्किएका छन्। यसरी फर्किएकाहरुलाई अहिले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell