PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

लकडाउनको उल्लघंन गरी चलाइएका २ सय सवारी साधन प्रहरीको नियन्त्रणमा, ग्रामिण भेगका पसलमा भिडभाड



राधेश्याम पटेल

लकडाउनको उल्लघंन गरी चलाइएका २ सय सवारी साधन प्रहरीको नियन्त्रणमा, ग्रामिण भेगका पसलमा भिडभाड
फाइल फोटो।

वीरगंज : पर्सा र बारा क्षेत्रमा लकडाउन उल्लघंन गरेर चलाइएका करिब २ सय सवारी सधानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही प्रकृया अघि बढाइएको छ।

पर्साको विभिन्न ठाउँबाट ९८ वटा मोटरसाइकल, २ वटा कार, एउटा अटो, एउटा पिकअप, ७ वटा साइकल र एउटा ट्रयाक्टर गरी १ सय १० सवारी सधान नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवत्ता डिएसपी वीरेन्द्र बहादुर शाहीले जानकारी दिए। त्यसैगरी, ठेलामा तरकारी बेच्ने एक जना, प्रहरीसँग विवाद गर्ने २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिइएको उनले बताए।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आवश्यक कारबाही गरिएको र सवारी साधनलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको जनाइएको छ।

यता, बारा प्रहरीले विभिन्न स्थानबाट ७४ वटा मोटरसाइकल र चालक तथा १० जना पैदल हिडडुल गरिरहेका गरी ८४ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

यसैबीच, शहर सुनसान भएपनि ग्रामिण भेगको चिया पसल, खाद्यान्न पसल, मदिरा पसल तथा नास्ता पसलमा स्थानीयको भीडभाड छ। ग्रामिण भेगमा अभिभावकहरु सचेत नबन्दा धेरै गाउँका बालबालिकाहरु एकै ठाउँमा सँगसँगै खेल्ने गरेको पनि देखिएको छ। सरकारले जारी गरेको लकडाउनको निर्देशन पालना गराउन उल्लेख्य संख्यामा गाउँमा पनि सुरक्षाकर्मी परिचालन गर्नु पर्ने आवश्यक देखिएको बाराको परवानीपर गाउँपालिकाका अध्यक्ष हरिनारायण रौनियारले आग्रह गरे।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा अरुणकुमार सिंहले कोरोना महामारी विश्वभर फैलिरहेको र चीन, इटाली, स्पेन, अमेरिका र भारतमा संत्रास उच्च रहेको अवस्थामा नेपालमा जनताले लकडाउन पालना नगरे अवस्था भयावह हुने विश्लेषण गरे।

‘विश्वका शक्तिशाली राष्ट्रले हात उठाइरहेको अवस्थामा नेपालमा स्वास्थ्य तयारी कमजोर छ’, उनले भने, ‘खाने कुराको हाहाकार नगरौँ, सबै जनाले एकले अर्कालाई दुःखको घडीमा सहयोग गरौँ, राज्यको निर्देशन पालना गर्नु भनेकै कोरोनालाई हराउनु भएकोले सोही अनुसार जनजीवन अघि बढाउन आग्रह गर्दछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell