PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अनि प्रहरी आफैंले बनायो सुरक्षित रहन मिल्ने मास्क...



सविन ढकाल

अनि प्रहरी आफैंले बनायो सुरक्षित रहन मिल्ने मास्क...

काठमाडौं : प्रत्येक मेडिकल पसलमा चहार्दा पनि मास्क छैन। कदम्, पाइहाल्यो भने पनि पाँच रुपैयाँ पर्नेको माक्सको मूल्य ५० रुपैयाँसम्म तिर्नुपर्ने। यसको कालोबजारी सुरु भइसकेको थियो।

सर्वसाधारणमात्र होइन, यस्तो समस्याले अस्पतालदेखि प्रहरीलाई समेत गाँजिरहेको थियो। एसएसपी सन्दीप भण्डारी यस्तो अवस्थामा तनावमा थिए। कोरोनाको संक्रमणबाट जोगिएर काम गर्नुपर्ने बाध्यतामा के गर्ने त? उनी र उनको परिवारको लागि मात्र भए मास्क जोहो गर्न यतिधेरै समस्या पर्ने थिएन। तर, एक हजार भन्दा बढीलाई मास्क जोहो गर्नुपर्ने जिम्मेवारी।

वाग्मती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीका प्रमुख हुन् भण्डारी। तालिममा आउनेदेखि अन्य ड्युटीमा खटिएका प्रहरीलाई संक्रमणबाट बचाउन मास्क नभइ नहुने। प्रहरी प्रधान कार्यालय नक्सालले पनि पर्याप्त मास्क उपलब्ध गराउन सकिरहेको थिएन।

उनले पहिचान भएसम्मको ठाउँमा पहल गरे। 'तर कतैबाट प्रयाप्त मास्क हात परेन,' एसएसपी भण्डारीले भने, 'मैले धेरै ठाउँमा मास्कका लागि भनेँ तर प्रयाप्त मास्क कतैबाट आउने छाँटकाँट देखिएन।'

विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमण दिनदिनै बढ्ने डरले मानिस आतंकित छन्। जोसुकै पनि मास्क खोजिरहेका।

तालिममा रहेका प्रहरी तथा अन्य कर्मचारीका लागि मास्क नभइ नहुने भएपछि उनले सोचे - आफैँ मास्क किन उत्पादन नगर्ने?

तर के सम्भव छ?

आफैले उत्पादन गरेको मास्क भाइरस संक्रमणबाट जोगाउन लायक होला?

यस्तै प्रश्नहरुले उनलाई दोधारमा पार्‍यो।

त्यही अलमलकै अवस्थामा झलस्स उनले आफ्नै ससुरा बुबालाई सम्झिए। ससुरा बुबालाई पक्कै मास्कको बारेमा ज्ञान होला। मनमनै सोचे - कस्तो मास्क बनायो भने संक्रमणबाट जोगाउन सक्ला?

त्यसपछि उनले ससुरा बुबालाई फोन गरे। उनले ज्वाइँलाई फोनबाटै सल्लाह पनि दिए।

केही अघिसम्म दोमनमा रहेका एसएसपी भण्डारी अब भने ढुक्क थिए। सुसुरा बुबासँगको फोनको त्यो कुराकानीले मास्क बनाउन उनलाई ऊर्जा मिलिहाल्यो। उनका ससुरा बुबा अर्थात् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्व प्रमुख डाक्टर बाबुराम मरासिनी।

डाक्टर मरासिनीलाई सरुवा रोग र नियन्त्रण सम्बन्धि लामो समय काम गरेका।

'उहाँले सल्लाह दिएपछि मलाई मास्क बनाउने थप हौसला मिल्यो,' एसएसपी भण्डारीले भने। तर, ससुराबुबाको मात्र सल्लाहलाई प्रयाप्त छ त?

त्यसपछि आफ्नै विभागमा रहेका डाक्टर प्रहरी निरीक्षक रमा विष्टसँग पनि सल्लाह लिए। डाक्टर विष्टले डाक्टर मरासिनीसँग पनि कुरा गरिन्। त्यसपछि मास्क बनाउने निर्णयमा पुगे।

नेपाल प्रहरी अस्पताल प्रमुख, एआइजी डाक्टर आशा सिंहले पनि एसएसपी भण्डारीको मनोबल थप बलियो बनाइन्। उनीहरु बीच सल्लाह भयो कसरी बनायो भने मास्क गुणस्तरीय हुन्छ।

'हाम्रो अस्पतालका डाक्टर सिंहले पनि सल्लाह दिनुभएको हो। त्यसपछि मास्क बनाउने निर्णय फाइनल भयो,' पहिलोपोस्टसँगको कुराकानीमा एसएसपी भण्डारीले भने।

मास्क त बनाउने। तर के को?

प्रश्न कपडाको क्वालिटीमाथि थियो। कहाँबाट ल्याउने त्यो कपडा? बजारमा मास्क बनाउने कपडा अभाव भइसकेको थियो। त्यसैले उनले हवल्दार मानबहादुरलाई जनकपुर पठाए। मानबहादुरले कपडा त पाए तर सीमित।

'कहाँ भने जति कपडा पाइने रहेछ र! सर्टेज भएकाले केही कपडा ल्याएर बनाएका हौं,' एसएसपी भण्डारीले सुनाए।

कपडा ल्याइसकेपछि प्रहरीको होजियारी युनिटले मास्क तयार पार्‍यो- तीन रङ्गका।

'हामीले तीन रङ्गका मास्क बनाएर वितरण समेत गरेका छौं,' एसएसपी भण्डारीले भने। अहिलेसम्म उनीहरुले ३ हजार मास्क उत्पादन गरेर वितरण गरिसकेका छन्।

प्रहरी र कर्मचारीलाई मात्र होइन, त्यहाँ वरपर रहेका स्थानीयलाई समेत यसरी तयार भएको मास्क वितरण गरेको एसएसपी भण्डारीले सुनाए।

'स्थानीयलाई पनि बाढेका छौं। अहिले हाम्रो युनिटमा रहेका हरेकसँग तीन तीनवटा मास्क छ,' एसएसपी भण्डारीले भने। उनीहरुले तयार पारेको मास्क पुन: प्रयोग गर्न मिल्नेखालको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell