PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

जर्मनीमा रहेकी नेपाली नर्सको डायरी : यतिखेरको सामान्य रुघाखोकी पनि जनयुद्धकालका माओवादी झै



पहिलोपोस्ट

जर्मनीमा रहेकी नेपाली नर्सको डायरी : यतिखेरको सामान्य रुघाखोकी पनि जनयुद्धकालका माओवादी झै

  • एलिजा हुमागाई -

दिउँसोको एक बज्नै लागेको छ। मैले सञ्चो महसुस नगरेको लगातार चार दिन भयो। साथीहरूको सहयोग पाउनलाई पनि अलि गाह्रो। कोरोनाको समयमा यदि सामान्य रुघाखोकी मात्रै हो भने पनि युद्धकालका माओवादी झैं आभाष हुन्छ मलाई। अझ कलेज ठप्प पारेर हामीलाई त बिरामीको उपचारमै लगाइएको छ। खोक्दै र सिँगान बगाउँदै काममा जाने कुरा भएन। काममा फोन गरेर भनेँ, म सन्चो नभएसम्म काममा आउँदिन। मैले भगवानसँग प्रार्थना गरेँ यो कोरोना चाहिँ नभइदियोस्। किनकि म अब दुई हप्ता घर बस्नुपर्‍यो भने ३८.५ घण्टा हप्ताले दुई हप्तामा ७७ घण्टा हुन आउँछ। यो भनेको ठाडै मेरो फाइनल परीक्षामा माइनस भएर बस्दिनसक्छ। नढाँटी भन्नुपर्दा यही एउटा कुराको डरले ९०० युरोको टिकट स्थगित गरेर मैले यतिबेला नेपाल नजाने निर्णय लिएको थिएँ।

बिरामी भएपछि मनोबल घट्दै गयो। बरु नेपाल नै हुन पाएको भए हुन्थ्यो म यसै पनि क्वारेन्टाइनमा बस्नुपर्छ भने नेपाल गएरै बस्थेँ नि। यहाँ पानी तताएर खाने जाँगर समेत मरिसकेको छ। युरोप अमेरिका मा कोरोना फैलिएसँगै मिनेट मिनेटमा संचार माध्यममा नयाँ नयाँ समाचारहरू आइरहेका छन्। हिजो एक दिन कम्प्युटर नचलाउने निर्णय गरेँ। नपढ्ने, नलेख्ने, आँखा चिम्लिएर पल्टिमात्र रहने मेरो एकल इजलासले पारित पनि गर्‍यो। अदुवा कुटेर मरिच ल्वाङ्ग हालेर कालो चिया बनाएँ। थर्मोमिटर साथमै छ। एकएक घण्टामा ज्वरो नाप्नुपर्ने डाक्टरको निर्देशन छ। तापक्रम लिइरहेँ, चिया पिउँदै। पकाएर खाने जाँगर मलाई फिटिक्कै लागेको छैन। म पल्टिमात्र रहेँ। साँझपख झन् झन् गाह्रो हुँदै गयो। टाउकोमा चिसो हात लग्छु भनेर निधार छाम्दा समेत छाला दुख्ने भइसकेको छ। घाँटी अब घाँटी जस्तो रहेन, नेपालको पञ्चेबाजा झैं भयो। कहिले आवाज निस्किएको थियो अत्तोपत्तो छैन, बोल्ने मान्छे पनि त कोही छैन। धन्न मलाई अति नै गाह्रो भयो के गर्नुपर्छ भन्ने कुराको मलाई ख्याल छ। र, ट्याक्सी बोलाएँ। हस्पिटल पुगेर पहिला फोन गरेँ र भनेँ - म यहीँको विद्यार्थी हुँ। म युरोलोजीमा काम गर्छु, मलाई बुधवार साँझदेखि यस्ता लक्षणहरू देखिएका छन्। म विदामा कतै गएको छैन। म कोरोना हुन सक्ने कोही मान्छेको सम्पर्कमा गएको मलाई याद छैन र म कोठामा पनि एक्लै बस्छु।

के म भित्र आउन सक्छु?

मैले हस्पिटल भित्र प्रवेशका लागि अनुमति मागेँ। तर, त्यहाँ चिनेको मान्छेले पनि नचिनेको झैं गर्छन्, ठ्याक्कै नचिनेको झैं। मैले त्यहाँको दशथरी झमेलाबाट बच्न मेरो कार्ड देखाएँ। त्यहाँ अरु कोही बिरामी पनि थिएनन्। मेरो पालो आइहाल्यो।

तिमीलाई इन्फ्लुएन्जा भएको हुनसक्छ, सकेसम्म सन्चो नहुन्जेल काममा नआउ। सन्चो भएपछि तिमीले काम गर्न आउँदा हुन्छ। म बाहिर निस्किएँ। चित्त अझै बुझेको छैन।

मैले इमर्जेन्सी कक्षमा फेरि फोन गरेँ र ढोका बाहिर उभिइरहेँ। र, भनेँ डाक्टरहरूले मलाई यसो भनेका छन् तर मलाई यदि इन्फ्युएन्जा नभएर कोरोना भएको रहेछ भने के गर्ने? उताबाट एकछिन ढोकामा कुर्न निर्देशन आयो। सामान्यतया इमर्जेन्सीको कक्षमा बिरामीको चाप हुन्छ, आफ्नै आँखाले प्रत्यक्ष देखिन्छ। प्रत्येक दिन धेरै झिँजो लाउँदिन भन्ने भन्ने पनि मन छ। एक घण्टा पछि फेरि घण्टी बजाएँ।

'ए तिमिसँग चाबी छ भने खोलेर आउन मलाई भ्याइनभ्याइ छ।'

मैले कालो सलले मुख छोपेको छु। बिरामीहरू वाल्ल परेर मलाई हेरिरहे। मैले भने- 'नडराउनुहोस् मलाई केहि पनि भएको छैन। मुख ढाकेको मात्र छु।'

यो कस्तो वाहियात सुनिन्छ। कसलाई पत्यार लाग्छ? म त्यहाँ उभिएर कुरा गरेँ। मेरो टेष्ट कुनै हालतमा नि नगर्ने, सन्चो भएपछि काममा आउँदा हुन्छ भनेपछि म ट्याक्सी लिएर घर फर्किएँ। सन्चो महसुस मलाई अझै भएको छैन। खोकी त बन्द भयो तर त्रास बन्द भएको छैन। म सरसफाइमा अतिरिक्त ध्यान दिने मान्छे हुँ। अनि अति धेरै नाकनिके पनि। खानामा मेथी, ज्वानो, लहरा बहरा पातहरू म पन्छाई पन्छाई खान्छु। खाना खाँदा छिमेकमा कसैले हाच्छ्युँ गरे वा सिगान पुछे, म खाना छाडिहाल्छु। घरकै सदस्यले समेत खाना खाँदा आवाज आए म खाना छोड्दिन्थेँ। चिया पिउँदा, सुपहरू खाँदा, आइसक्रिम खाँदा ठूलो ठूलो आवाज निकाले मेरो मन भित्रै निचोरिएर आउँछ र म रीस सम्हाल्नै सक्दिन। मेरो दिदी मलाई रीस उठाउनलाई मेरो नजिक रहेर ठूलो ठूलो स्वरमा चिया पिउँथी। म यहाँ पनि नाकनिके, नेपालमाजस्तै।

म सधैँ खाने रेष्टुरेन्टभन्दा बाहिर गएर कहिल्यै खाँदिन। वियर, वाइन खान त के मेरो खानाको वरिपरि पनि देख्न सक्दिन। मेरो अन्टी, ठूलोममीहरू मलाई हजुरआमा भन्नुहुन्छ। म ठ्याक्कै हजुरआमा जस्तै छु। म यस्ता कुराहरू यति छिटै अपनाउन सक्दिन। किनकि मैले कहिल्यै खाएको छैन। यसको स्वाद कस्तो हुन्छ पनि मलाई थाहा छैन। घिरौंला, भन्टा, सिमी, बोडी जस्ता तरकारीको स्वाद कस्तो हुन्छ मलाई थाहा छैन र मेरो भान्सामा पनि पाक्दैन। मेरो हजुरआमा भन्नुहुन्थ्यो – नाकनिकेको भागमा चिप्लेकिरा। यो कोरोनाको समयमा इन्फ्युएन्जाले समाउनु पनि एउटा मज्जा रहेछ।

सन्चो नहुँदा धेरै सम्झना हजुरआमाको र ममीको आयो। यस्तै, ज्वरो मलाई ४ क्लास पढ्दा आएको थियो। यत्तिनै गल्ने गरी। यत्तिनै ढल्ने गरी। हरेक घण्टा मलाई यति त मैले कहिल्यै गलेको थिइँन भन्ने मात्र आभाष हुन्छ। तर, उठेर केही गर्ने जाँगर शून्य। मलाई सन्चो नहुन्जेल कोरोना सम्बन्धी न्युज नहेर्ने प्रण गरेको छु। सबैजना स्वस्थ रहनु होला। म जस्तो नाकनिक नगरी पौष्टिक आहार खानुहोला। यस्तो समयमा घरपरिवारसँग हुन पाउनु भनेको पनि ठूलो बरदान हो। रुघाखोकीदेखि ज्वरो लगायत श्वासप्रश्वासको समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गएर देखाउनुहोला। ज्वरो आफैँमा रोग होइन। तिम्रो शरीरमा केही ठिक छैन भनेर आउने चिठी जस्तै हो ज्वरो। सरसफाइ र खानपिनमा ध्यान दिनुहोस्। म जस्तो अल्छी नगर्नुहोस्। यो समय केही उचित कार्य गर्न खर्चनुहोस्। भिडभाडलाई बहिष्कार गर्नुस्। घरै बसौं अत्यावश्यक सामानहरूको कालो बजारीमा रोक लगाऔं। मिलेर बाँचौं। मिलेर बचाऔं।

जय देश! जय नेपाल!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell