PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कसरी आइरहेको छ काठमाडौंमा फ्रेस तरकारी?



पहिलोपोस्ट

कसरी आइरहेको छ काठमाडौंमा फ्रेस तरकारी?

काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको पाँच दिन भएको छ तर बजारमा अझैं फ्रेस तरकारी भित्रिरहेको छ। उपत्यकाभित्रको ठूलो थोक तरकारीबजार कालिमाटीमा बिहानै पुग्ने हो भने फ्रेस तरकारी किन्न खुद्रा व्यापारीदेखि उपभोक्ताको घुँइचो लागेको हुन्छ।

स्थानीय निकायले बिहान ७ बजेसम्म तरकारी किनबेचको लागि कालिमाटी खुल्ला गरेको छ। सात बजे अगाडिसम्म कालिमाटीमा फ्रेस तरकारी किन्न पाइन्छ। सरकारले सबै अत्यावश्यक ढुवानीका सवारीलाई गुड्न दिएको छ। त्यसैलाई सदुपयोग गर्दै व्यापारीहरुले कालीमाटीमा तरकारी ल्याउने गरेका छन्।

काठमाडौं बाहिरका जिल्ला काभ्रे, धादिङमात्र होइन, तराईका सर्लाही र सप्तरीसम्मबाट पनि तरकारी आउने गरेको छ। 

'यो सिमी सर्लाहीबाट ल्याइएको हो। बिहान ३ बजेतिर नै तरकारी आइपुग्छ,' कालिमाटी तरकारी बजारमा एक व्यापारीले भने।

उपत्यकाभित्र कामको शिलशिलामा बाहिर जिल्लाबाट आएर बसोबास गर्दै आएका धेरै मानिस गाउँ फर्किएकाले पनि तरकारीको माग कम भएको छ। माग र आपूर्तिमा धेरै फरक नहँदा तरकारीको भाउ धेरै बढ्न पाएको छैन। तर, धेरै समयसम्म नकुहिने प्रकृतिका तरकारीहरु जस्तै आलु, प्याज लगायतमा भने केही भाउ बढेको छ। अहिले कालिमाटीमा, मटरकोसा, सिमी, काउली, भण्टा लगायतका तरकारी प्रतिकेजी ४० रुपैयाँदेखि ५० रुपैयाँमा पाइन्छ।

'बिहानै आएर तरकारी लगेर बेच्ने गरेको छु। अहिलेसम्म त फ्रेस नै तरकारी पाइएको छ,' जोरपाटीमा खुद्रा तरकारी पसल गरिरहेका रमेश गिरीले भने। 

सरकारले सबै नाका बन्द गरेका कारण भारत र चीनबाट आउने तरकारी नाकामा नै थन्किएर बसेका छन्। त्यसैले अहिले उपत्यकाभित्रको तरकारीको माग देशभित्रकै उत्पादनले धानेको छ। 

शुक्रवार बसेको उच्चस्तरीय सम्वन्य समितिको बैठकले अत्यावश्यक ढुवानीका साधनलाई भने नाकामा नरोक्ने निर्णय गरिसकेको छ। यसले तरकारी आयातमा सहजता थपेको छ।

कालीमाटीबाहेक काठमाडौंका बल्खुस्थित तरकारी बजारमा पनि सञ्चालनमा छ। यहाँ ९ बजेसम्म पनि तरकारी किनबेच चलिरहेको देखिन्छ। थोक तथा खुद्रा दुवै दरमा बिक्री हुने भएकाले बल्खुमा पनि मानिसहरुको चाप छ।

तर, फलफूलको थोक बजार कुलेश्वर भने सुनसान भइसकेको छ। बाहिरबाट फलफूल नभित्रिएका कारण थोक बजार खुल्न नसकेको हो। लकडाउनका कारण भारत र चीन दुवैतिरका नाका बन्द छ जसले गर्दा फलफूल आयात हुन सकेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell