PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोना रोकथामका लागि सुदूरपश्चिम प्रदेशको ४० करोड, आयस्रोत गुमेकालाई राहत प्याकेज ल्याइने



एम बम

कोरोना रोकथामका लागि सुदूरपश्चिम प्रदेशको ४० करोड, आयस्रोत गुमेकालाई राहत प्याकेज ल्याइने

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रण, उपचार तथा ब्यवस्थापन कोष स्थापना गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उक्त कोषमा प्रदेश सरकारले ४० करोड जम्मा गर्ने निर्णय भएको बताए। उक्त कोषमा निजी क्षेत्रलाई पनि सहयोगका लागि आह्वान गर्ने शाहले जानकारी दिए।

त्यस्तै सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय सुदूरपश्चिम सरकारले गरेको छ।

प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभीड–१९) को सम्भावित विरामीको नमूना परीक्षणका लागि तीन वटा अस्पतालमा ल्याब स्थापना गर्ने निर्णय गरेको छ।

सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीमा ल्याब स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शाहले बताए।

लकडाउनका कारण ज्याला मजदुरीबाट आय स्रोत गुमेका मजदुरका लागि प्रदेश सरकारले राहत प्याकेज ल्याउने भएको छ।

आयस्रोत गुमेका तथा गरिबीको रेखामुनि रहेकाहरुका लागि राहत प्याकेज उपलब्ध गराईने भएको हो।

मन्त्रीपरिषद् बैठकले राहात प्याकेज आर्थिक मामिला तथा योजना मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरेको हो। मन्त्री शाहले अर्थ मन्त्रालयले स्थानीय तह र संघिय सरकारसँग समन्वय गरी राहात प्याकेज उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

सुदूरपश्चिममा लकडाउनपछि दैनिक ज्याला मजदुरी गरी गुजरा चलाउदै आएकाहरु समस्यामा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell