PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मैदानमा चिकित्सक र सुरक्षाकर्मी, भरोसा कसले दिने? [सम्पादकीय]



पहिलोपोस्ट

मैदानमा चिकित्सक र सुरक्षाकर्मी, भरोसा कसले दिने? [सम्पादकीय]

यतिखेर कोभिड - १९ को कहरले जनता लकडाउनमा छन्। कहरविरुद्ध संघर्षमा पहिलो पङ्तिमा उत्रिएका छन् चिकित्सक तथा स्वास्थ्यकर्मीहरु। चिकित्सकहरु स्वयम् संत्रासमा छन् - प्रकोप फैलिँदा बाँच्ने कसरी र बचाउने कसरी? भित्री घेरामा रहेका चिकित्सकहरुसँगै मैदानमा उत्रिएका छन् सुरक्षाकर्मी जसले नागरिकलाई लकडाउनमा सीमित पार्न मेहनत गरिरहेका छन्। यी दुवै एक हिसाबले निरीह छन् - भयको राज यिनीहरुमाथि पनि छ भलै त्यो देखाउने छुट चाहिँ छैन।

जनता त्रसित हुनु स्वभाविक हो। कोरोना संक्रमितको संख्या नेपालमा पनि बढ्ने क्रममा छ। चीन र कोरियाबाट कोभिड - १९ टेस्ट किट भित्रिँदै छ। त्यसपछि वास्तवमा नेपालमा संक्रमणको अवस्था के छ र त्यसले कस्तो रुप लिँदैछ भन्ने आँकलन गर्न सकिनेछ। जसरी चीनमा 'मास स्केल'मा एकै पटक परीक्षण गरियो र एकै दिन धेरै संक्रमितको संख्या १० औं हजारले बढेको थियो, नेपालमा पनि त्यस्तै नहोला भन्न सकिन्न। कम परीक्षण गर्दा कममात्र पोजेटिभ देखिएको त होइन? संदेह छ।

कोरोनाको कहरले नेपाल कसरी समस्यामा फस्दैछ भन्दै अत्याउने शैलीमा वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले जतिखेर सचेत गराउन खोजेका थिए, आलोचनाको सिकारमात्र भए - आतंकित बनाउने डाक्टर भन्दै। उनले जसरी त्यतिखेर हवाई अड्डा र यातायात बन्द गरिहाल्नुपर्ने बताएका थिए - सत्ताबाट पोषिलाई त्यो पच्ने कुरा थिएन। तर, जसरी भारतीय सीमाबाट जसरी मानिसहरु नेपालमा भिडभाड गर्दै भित्रिए, जसरी लगातार विमानबाट मानिसहरु आइरहे, त्यसले दीक्षितको भनाइलाई मात्र स्थापित गरिरह्यो। सरकारको पक्षमा वकालत गराउनेलाई मात्र सुन्ने र आलोचनाका शब्दहरु सत्ताको कानमा नपार्न मेहनत गर्नुको असर हामी भोगिरहेका छौं अहिले।

नहुनु भइसक्यो, अब कोरोनासँग भिड्नु र जित हासिल गर्नुको विकल्प छैन। त्यसैले हिजो कसले के गर्‍यो भन्दा पनि अब के गर्नुपर्छ भन्नेतिर सरकार मुखारित हुन आवश्यक छ। कोरोनाले जन्माएको भयको राजमा हुनसक्ने कालोबजारीदेखि घरमा थुनिएका सर्वसाधारणमा हुनसक्ने मानसिक विक्षिप्तता सम्मका विषयलाई हामी कसरी सम्बोधन गर्दैछौं? कसरी सम्बोधन गर्दछौं ती मानिसहरुलाई जो दिनभरी पसिना बगाएर दुई छाकको जोहो गरिरहेका थिए? आपूर्ति व्यवस्थापनदेखि स्वास्थ्य सुरक्षा चासोसम्म के भइरहेको छ?

कोरोना भाइरस विरुद्धको लडाईमा यतिखेर स्वास्थ्य मन्त्रालय एकातिर दौडिरहेको छ, गृह मन्त्रालय अर्कातिर। अर्थ मन्त्रालयको र आपूर्ति मन्त्रालयको दिशा अलग अलग देखिन्छ। सबैको ध्येय कोरोनाविरुद्धकै होला तर आफ्नोआफ्नो शैलीबाट एकै गन्तव्यमा बलियोसाथ पुग्न कसरी सकिएला? जब मन्त्रालयले आफू मातहतकै निकायबाट जानकारी बटुल्न सकेको छैन, कसरी अन्तर मन्त्रालयबाट जानकारी संकलन गर्न सकोस्? मन्त्रालयबीच सूचना आदानप्रदानसमेत जसरी हुनुपर्ने हो हुन सकिरहेको देखिन्न। लाग्छ, कोरोनाविरुद्धको युद्धमा हामी ज्यान फालेर काम गरिरहेका छौं, तर पनि बल पुगिरहेको छैन। त्यसैले घरमा थुनिएका मानिसहरु आफै गुमराहमा छन्। सोसल मिडियाबाट फैलिएका अफवाहबाट मानिसहरु त्रसित छन्। विश्वभर कोरोनाको मृत्यु भएका मानिसको सङ्ख्यामा अपडेट लिइरहेका जनताको हविगत त्यस्तो हुँदैन, त्यसका लागि सरकार कटिवद्ध भन्ने संदेश समेत प्रवाह हुन सकेको छैन।

र, यी सबैका लागि अहिले अभाव खड्किएको हो - राष्ट्रिय नेतृत्वको। प्रधानमन्त्री अस्वस्थ छन्। उनी मातहतका मन्त्रीहरु भिडिरहेका छन्, आ-आफ्नै हिसाबले। संगठित र एक भएर उनीहरुको कार्ययोजना अगाडि बढेको छैन। अर्थात्, सेनापतिबिहीन सेनाहरु बनेका छन् - विभागीय मन्त्रालय नेतृत्व गर्नेहरु। त्यसैले कसैलाई कोरोनाविरुद्धको लडाईको नेतृत्व कसैलाई दिनु अनिवार्य भइसकेको छ। यस्तो नेतृत्वले जनतालाई सम्बोधन गरोस्। भरोसा दिलाओस् - सरकारले उनीहरुलाई जोगाउन केही गरिरहेको छ। मैदानमा उत्रिएका चिकित्सक/स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई डटिरहन प्रेरित गरोस्। अहिले देशले खोजेको यतिमात्र हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell