PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

महाकाली बगरमा अलपत्र दुई सय बढी नेपालीको ४ दिनपछि उद्धार



पहिलोपोस्ट

महाकाली बगरमा अलपत्र दुई सय बढी नेपालीको ४ दिनपछि उद्धार

काठमाडौँ: शुक्रबार बिहानै भारतीय नम्बरबाट कांग्रेस नेता एवम सांसद दिलेन्द्रप्रसाद बडूको मोबाइलमा फोन आयो। भारतीय नम्बरबाट फोन आउँदा उनी एकछिन अकमकिए। ‘हामीलाई बचाउनु पर्यो हजुर हामी अलपत्र पर्यौं, तीन दिनदेखि भोकै छौँ,’ एक अपरिचितले आत्तिँदै भने। फोन गर्ने थिए बाँके कोहलपुरका तप्त रोकाया। उनले दार्चुला सदरमुकाम खलंगा पारीको भारतीय बजार धारचुलास्थित महाकाली नदी किनारबाट सांसद बडूलाई फोन गरेका थिए। ‘कसैले मेरो नम्बर दिएको रहेछ, अनि रोकायाले मलाई उद्धारमा सहयोग गर्न आग्रह गरेका थिए,’ सांसद बडूले भने। राउतले सुदूरपश्चिम र कर्णाली क्षेत्रका दुई सय भन्दा बढी नेपाली तीन दिनदेखि भोकभोकै महाकाली किनारमा बस्न बाध्य भएको समस्याबारे बडूलाई जानकारी गराएका थिए।

राउतबाट सूचना पाएलगत्तै बडूले उपप्रधामन्त्री ईश्वर पोखरेल र गृह सचिव महेश्वर न्यौपानेलाई नेपाली मजदुरको पीडाबारे बताए। उनले तत्काल उद्धार नगरिए भोकभाकै नेपालीको सीमा क्षेत्रमा ज्यान जाने खबर पोखरेल र न्यौपानेलाई सुनाएका थिए। ‘मैले लगत्तै दार्चुला र बैतडीका सिडिओ तथा सुरक्षा प्रमुखलाई उद्धारमा सहयोग गर्न फोनमा आग्रह गरे,’ बडूले भने। सबैतिरबाट सकारात्मक प्रतिक्रिया प्राप्त भए पनि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार भने शुक्रबार राति मात्र हुन सक्यो । यसबीचमा राउतबाट सांसद बडूले अलपत्र परेका कुन ठाउँका कति कति जना भनेर तथ्यांक समेत लिन भ्याइसकेका थिए।

‘मैले उद्धार पछि आउने समस्याबारे दार्चुलाका सिडिओ यदुनाथ पौडेल र महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टसित पनि छलफल गरे,’ बडूले भने। अलपत्र परेकालाई सुरक्षाकर्मीको सहयोगमा उनीहरुको गन्तव्यतर्फ पठाउने सल्लाह भयो। यसका लागि सबैले आ आफ्नो ठाउँबाट रातभर खटिने प्रतिबद्धता जनाए। जिल्ला प्रशासन कार्यालयमा यसबारे सर्वपक्षीय बैठक बस्यो। नजिक घर भएका सबैलाई महेन्द्र नमुना उच्च मावि र दार्चुला बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा राख्ने सहमति भयो। सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीका सवारीमा उद्धार गरिएकालाई गन्तव्यमा पठाउने कुरोको तारतम्य मिलेपछि नेपाली अधिकारीको टोली भारतीय पक्षसित सल्लाह गर्न निस्क्यो। यो सब गतिविधिको समन्वय सांसद बडूले काठमाडौँबाटै गरिरहेका थिए।

‘दिनभर उद्धार के कसरी गर्ने भन्ने कुरा मिलाउनमै बित्यो,’ बडूले भने। उद्धार गरिएका सयौँ नेपाली खलंगामा अलपत्र परे सबैको अपजस आफूमाथि आइलाग्ने चिन्ता उनलाई थियो। ‘जसरी पनि साँझसम्म उद्धार गर्नुपर्ने र नत्र ठूलो दुर्घटना निम्तिने खतरा देखिरहेको थिएँ,’ उनले भने। धरैको भोक र चिन्ताले स्वास्थ्य बिग्रिसकेको थियो। यसबीचमा बडूलाई अलपत्र परेकाहरुका आफन्तजनको फोन पनि लगातार आइरहेको थियो। दिनभरको प्रयासका बाबजुद शुक्रबार राति सीमामा अलपत्र परेका दुई सय भन्दा बढी नेपालीलाई उद्धार गरी नेपाल ल्याइयो। धेरैजसोलाई राति नै सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको सहयोगमा गन्तव्यतर्फ पठाउने काम भयो। ‘उनीहरुको नाम र ठेगाना सम्बन्धित जिल्लाका प्रमुख, सुरक्षा अधिकारी तथा स्थानीय तहका पदाधिकारीलाई उपलब्ध गराउने काम गरेका छौँ,’ बडूले भने।

यसरी चार दिनदेखि भारतमा अलपत्र सयौँ नेपाली मजदुरलाई घर पठाइएको छ। राति सम्भव नभएकालाई आज घर पठाउने काम भइरहेको छ। केहीलाई खलंगामा क्वारेन्टाइनमा राखिएको छ। यत्तिले मात्र समस्या समाधान भएको छैन। भारत र नेपालमा लकडाउन गरिएको बारे जानकारी नपाएका धेरै नेपाली मजदुर भारतका विभिन्न ठाउँबाट घर फर्कने क्रम जारी छ। उनीहरु दुर्गम भेगमा मजदुरी गर्ने भएकाले लकडाउनबारे बेखबर छन्। तर खलंगास्थित झोलुंगे पुलमा भोटो ताल्चा लगाइएकाले भारतीय सीमा क्षेत्रमा महाकाली नदी किनारमा बसिरहेका छन्। भारतीय प्रहरीले बजार तथा त्यस आसपासका सडकमा उनीहरुलाई बस्न मनाही गरेको छ। ‘एक सय भन्दा बढी नेपाली फेरि आज नदी किनारमा जम्मा भएका छन्, उनीहरु जसरी नी आफ्नो घर फर्कन चाहन्छन,’ दार्चुलाका सञ्चारकर्मी भोजराज जोशीले भने, ‘गएरातिको जस्तै उद्धार गर्न सकिए हुन्थ्यो।’

भारतमा लाखौँ नेपाली मजदुर काम गर्दै आएकाले उनीहरु कोरोना भाइरसको डरले जसरी नी सुरक्षित घर फर्कन चाहन्छन्। लकडाउनका कारण सहजै घर पुग्न सक्ने अवस्था भने छैन। पुलमा ताला लागेका कारण उनीहरुको घर फर्कने बाटो बन्द भएको छ। सरकारले उक्त समस्यालाई भारतसित समन्वय गरी दैनिक रुपमा समाधान गर्नुपर्ने देखिन्छ। भारतमा बस्ने खाने व्यवस्था नहुँदा नेपाली मजदुरलाई आफ्नो घर नफर्की सुखै छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell