
काठमाडौं : चैत ४ गते कतार एयरको फ्लाइट नम्बर क्युआर ६५२ बाट नेपाल आएकी किशोरीमा कोभिड-१९ को संक्रमण देखिएको छ।
यो नेपालमा देखिएको पाँचौं केस हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार चैत ४ गते क्युआर ६५२ बाट बेल्जियमबाट कतार हुँदै आएकी १९ वर्षिया महिलामा कोभिड-१९ को संक्रमण देखिएको हो।
यसअघि नेपालमा दोस्रो केसको रुपमा सोही एयरबाट काठमाडौंकी १९ वर्षीया किशोरीमा कोभिड-१९ को संक्रमण देखा परेको थियो।
अहिलेसम्म टेकु अस्पतालमा ८ सय ७५ टेस्ट भएका छन्। जसमध्ये पाँच जनामा कोभिड-१९ को संक्रमण फेला परेको छ। चार जना आइसोलेसनमा राखेर उपचार भइरहेको छ। एक जना विरामी उपचारपछि फर्किसकेका छन्।
हाल टेकु अस्पतालमा १० जना विरामी रहेका छन्। जसमध्ये ४ जना आइसोलेसनमा छन्। आइसोलेसनमा रहेका बिरामीमध्ये दुई जना कोभिड-१९ बाट संक्रमित हुन्।
हिजोमात्र कोभिड-१९ को चौथो केस पत्ता लागेको थियो। धनगढीका एक युवामा संक्रमण देखिएको थियो। उनी २० मार्चमा भिस्तारा एयरबाट दिल्ली हुँदै नेपाल आएका थिए। उनी दुबईबाट इमिरेट्स एयरबाट दिल्ली ओर्लिएका थिए।
यता, स्वास्थ्य मन्त्रालयले एउटा कल सेन्टर थप्ने भएको छ। प्रवक्ता देवकोटाका अनुसार १११५ नम्बरको कल सेन्टरलाई नियमित गर्दै ११३३ नम्बरको अर्को कल सेन्टर थप्न लागिएको छ। हालसम्म कल सेन्टरमा ६ हजार बढी कल आएका छन्।
कलसेन्टरलाई बिस्तार गर्दै २४ घण्टा चिकित्सकीय सेवासमेत राखिने उनले जानकारी दिए।