PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोरोना भाइरसको औषधि बनाउन चार वटा मेडिसिन टेस्ट गरिँदै, स्पेन र नर्वेमा दुई विरामी छनौट



पहिलोपोस्ट

कोरोना भाइरसको औषधि बनाउन चार वटा मेडिसिन टेस्ट गरिँदै, स्पेन र नर्वेमा दुई विरामी छनौट
PHOTO : AFP

काठमाडौ: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको औषधि परीक्षणका दुई जना विरामी छनौट गरेको छ। ती विरामीहरु नर्वे र स्पेनमा भर्ना भएका छन्। कोरोना भाइरसविरुद्ध लड्ने औषधिका लागि यसलाई ऐतिहासिक परीक्षण भनिएको छ।

उनीहरुमा चार वटा औषधि परीक्षण गरिने डब्ल्यूएचओले जनाएको छ। जसमा मलेरियाको औषधि क्लोरोक्वाइन र हाइड्रोक्सीक्लोरोक्वाइन, इबोलाविरुद्ध प्रयोग गरिएको एन्टिभाइरस रेम्डिसिभिर, एचआईभीको औषधि लोपिनाभिर तथा रिटोनाभिर र इन्टरफेरोन बिटाको कम्बिनेसन गरिनेछ।

मलेरियाविरुद्ध प्रयोग गरिने 'क्लोरोक्वाइन' र 'हाइड्रोक्सीक्लोरोक्वाइन' दशकौ पुरानो औषधि हो। यो कोरोना भाइरसबाट संक्रमितको उपचारमा प्रभावकारी हुने फ्रान्समा भएको एक अध्ययनले देखाएको छ। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिइसकेका छन्। यद्यपि विज्ञहरुले यो औषधि प्रयोगमा थप परीक्षणहरु आवश्यक रहेको बताउँदै आएका छन्।

वैज्ञानिकहरुले एचआइभीको औषधिलाई पनि सम्भावित उपचारको रुपमा हेरिरहेका छन्। 'रेम्डिसिभिर' गिलिड विज्ञानद्वारा उत्पादन गरिएको औषधि हो। रेम्डिसिभिर प्रयोग गरिरहेका अमेरिका र चीनका केही स्वास्थ्य अधिकारीले यो औषधिले विरामीमा भाइरसको आयु घटाउन मद्दत गर्ने बताएका छन्।

'कोभिड १९ को हालसम्म कुनै प्रमाणित उपचार छैन। तर, थुप्रै क्लिनिकल परीक्षणहरु चलिरहेका छन्', डब्ल्यूएचओको इमर्जिङ डिजिजेस एण्ड जुनोसिस युनिटका प्रमुख डा. मारिया भान केरखोभले पत्रकार सम्मेलनमा भनिन्। डा. मारियाले यी औषधिहरुको उचित मूल्याकंन महत्वपूर्ण भएको र यसका लागि आवश्यक पर्ने सहयोगी डाटाहरु आफूहरुसँग रहेको बताइन्।

यता विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले पनि सबै औषधि कोभिड १९ विरुद्ध प्रभावकारी नहुने भएकाले औषधिहरुको प्रयोग रोक्न आग्रह गरेका छन्। यद्यपि उनीहरुले कुनै पनि औषधिको नाम भने लिएनन्। तर, धेरैले क्लोरोक्वीनलाई एजिथ्रोमाइसिनसँग मिसाएर कोभिड १९ को उपचारमा प्रयोग गरिरहेका छन्।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयिससले संसारकै साझा सत्रु कोरोना भाइरसँग सबै मिलेर लड्नुको विकल्प नभएको बताए। 'कोभिड १९ बाट ५ लाख बढी संक्रमित भइसकेका छन्। २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यो दु:खद संख्या हो,' जेनेभास्थित पत्रकार सम्मेलनमा महानिर्देशक घेब्रेयिससले भने, 'तर, हामीले के पनि स्मरण गर्नुपर्छ भने १ लाखभन्दा बढी संक्रमित निको भएका छन्। हामीले साझा सत्रुविरुद्ध एकताबद्ध लडाई लड्न जरुरी छ।'

महानिर्देशक घेब्रेयिससले कोभिड १९ लाई रोक्ने खोप बन्न अझै १२ देखि १८ महिनासम्म लाग्ने बताए। उनका अनुसार संगठनले राष्ट्रिय स्वास्थ्य संस्थानसँग मिलेर नजिकबाट काम गरिरहेको छ। जसअन्तर्गत बायोटेक कम्पनी मोडर्नासँग मिलेर कोभिड १९ रोक्ने खोप विकास गर्न द्रुत गतिमा काम भइरहेको छ। त्यसैअनुसार अमेरिकामा गत हप्ता सम्भावित खोपका लागि पहिलो मानव परीक्षण गरिएको थियो।

'मोडर्नाको सम्भावित खोपमा जेनेटिक (आनुवंशिक) सामग्री हुनेछ। जसलाई मेसेन्जर आरएनए तथा एआरएनए भनिन्छ। यो ल्याबमा उत्पादन गरिएको हो,' काइसर परमानेन्ट वाशिंटन हेल्थ रिसर्च इन्सिच्युटका अनुसन्धानकर्ताले भनेका छन्, 'एमआरएनए एक जेनेटिक कोड हो, जसले कोषिकाहरूलाई प्रोटिन कसरी बनाउने भनेर बताउँछ र यो नयाँ कोरोना भाइरसको बाहिरी तहमा फेला परेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell