PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

लकडाउनका कारण राजविराजमा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा



रासस

लकडाउनका कारण राजविराजमा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा

राजविराज : कोरोना भाइरसको महामारीलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउनले अहिले सप्तरी जिल्लाको राजविराजसहित विभिन्न ठाउँमा खाना पकाउने ग्यास अभाव भएको छ।

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले अह्वान गरेको लकडाउनले जिल्लाको विभिन्न ठाउँका बजार, पसल पूर्णरुपमा बन्द भएका कारण सहज रुपमा ग्यास उपलब्ध नभएको उपभोक्ताले गुनासो गरेका छन्। राजविराजका ग्यास बिक्रेता ग्यास अभाव रहेको भन्दै उपभोक्तालाई बढी मूल्यमा बिक्री गरी केही स्थानमा ग्यासको कालोबजारीसमेत भइरहेको उपभोक्ताले बताएका छन्।

राजविराज बजारमा विगत पाँच दिनदेखि सबैतिर ग्यास खोज्दा नभेटेको र ग्यासको अभावमा अहिले हिटर र राइसकुकरमा खाना पकाएर खानुपर्ने अवस्था आएको राजविराज–३ का रोशन गोइतले गुनासो गरे। ग्यास उद्योगबाट १५  दिनदेखि थप ग्यास नआएकाले आ-आफ्ना पसल बन्द गरिएको राजविराजको कञ्चनपुर रोडमा रहेका कमख्या ग्यास डिलरका बिक्रेता वैजनाथ दासले बताए। लकडाउनले बाहिर निस्कने अवस्था नरहेकाले समस्या परेको ग्यास बिक्रेता दासको भनाइ छ।

कोशी ग्यास डिलर राजविराजका अनुसार राजविराज नगरपालिका क्षेत्रभित्रै तीन हजार ग्राहक रहेको भन्दै समयमा ग्यास नआएका कारण अहिले ग्यासको हाहाकार भएको जनाएको छ। ग्यास डिलरमा विगत १०/१५  दिन अगाडि खाली सिलिन्डर लाइनमा लगाएकाले अहिले ग्यासको अभावमा उनीहरुलाई दिनसमेत नसकेको ग्यास बिक्रेताले बताएका छन्। राजविराज बजार क्षेत्रमा सुविधा, कोशी, कमख्या, प्रिमिया, सुपरलगायत एक दर्जन डिलर रहे पनि अहिले ती डिलरमा ग्यास अभाव रहेको बिक्रेताको भनाइ छ।

ग्यास गोदाममा खाली सिलिन्डर मात्र जम्मा रहेको भन्दै भरेको सिलिन्डर आएपछि र ग्यास बाँड्ने व्यवस्था स्थानीय प्रशासनले मिलाए मात्र ग्यास बिक्री गर्न सहज हुने कोशी ग्यास बिक्रेता राजेश कर्णले बताए। यता नेपाल आयल निगम विराटनगर डिपोले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर राखेका कारण ग्यासको समस्या भएको जनाएको छ। त्यस्तै राजविराजका पम्प बन्द हुँदा पेट्रोलियम पदार्थको समेत समस्या भएको सर्वसाधारणको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell