ठिनी : कोभिड-१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘लकडाउन’ गरेपछि मुस्ताङमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ।
मुस्ताङका विभिन्न गन्तव्यमा रोकिएका ५१ पर्यटकको आज जिल्ला प्रशासन कार्यालय, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम, जिल्ला प्रहरी कार्यालय र पर्यटक प्रहरीको समन्वयमा उद्धार गरिएको हो। पर्यटकलाई काठमाडौं पुर्याउन दुई बसको व्यवस्था मिलाएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए।
ती पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले तथ्यांक संकलनका साथै स्वास्थ्य परीक्षण गरेर काठमाडौं पठाइएको उनले बताए। उद्धार गरिएका पर्यटक अस्ट्रेलिया, क्यानडा, चीन, फिनल्यान्ड, जर्मनी, इटाली, नेदरल्यान्ड, पोल्यान्ड, युके, अमेरिमका, फ्रान्स, स्वीडेन, स्वीट्जरल्यान्ड, आयरल्यान्ड, भारत र बेल्जियमका रहेका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।
मुस्ताङबाट पठाइएका पर्यटकलाई नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित दूतावासलाई जिम्मा लगाइने उनले बताए। यसअघि मुस्ताङबाट विभिन्न मुलुकका एक सय २१ विदेशी पर्यटकलाई काठमाडौं पठाइएको थियो।