PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउनको पाँचौं दिन, कोरोनाको पाँचौं केस! ट्रेसिङ र टेस्टिङमा चुक्दा बढ्दै संक्रमणको खतरा



सहयोग रञ्जित

लकडाउनको पाँचौं दिन, कोरोनाको पाँचौं केस! ट्रेसिङ र टेस्टिङमा चुक्दा बढ्दै संक्रमणको खतरा

काठमाडौं : माघको पहिलो साता चीनबाट नेपाल फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण देखियो। त्यसबेला चीनमा भाइरसले महामारी मच्चाइसकेको थियो। विश्वका केही देशहरुमा त्यसले प्रभाव पारिसकेको थियो। भाइरसबाट संक्रमित देशको सूचीमा नेपाल पर्दासम्म विश्वले भाइरसलाई हल्का रुपमा लिइरहेको थियो। नेपालले पनि।

त्यसबीच भाइरसले युरोपमा ठूलै कहर मच्चायो। अमरिका, भारत, जापान, अष्ट्रेलिया, अफ्रिकी राष्ट्रहरुमा भाइरसको प्रभाव बढ्दै गयो। अन्तत: पहिलो केस देखिएको करिब दुई महिनापछि नेपालमा कोरोना भाइरसको दोस्रो केस देखियो। त्यसलगतै लकडाउनमा पुग्यो नेपाल।

पहिलो केस देख्ने बित्तिकै सरकारमाथि हवाई र सीमाबाट आउने यात्रुहरुमा कडाई र प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको थियो। तर, सरकारले दोस्रो केस देखिनुको अन्तिम समयसम्म पनि हाम्रो विमानस्थल खुल्ला रह्यो। सीमामा अहिले पनि आवागमन जारी छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमित व्यक्तिको पहिचान गर्न र त्यसलाई नियन्त्रणमा राख्न सजिलो उपाय दिएको छ। त्यो हो ‘टेस्ट, टेस्ट र टेस्ट,’।

कोरोना भाइरसको लक्षण देखिन कम्तीमा १४ दिन लाग्ने भएकोले डब्लुएचओ भाइरसको ‘ट्रेसिङ र टेस्टिङ’ मा जोड दिँदै आएको हो। परीक्षण बिना भाइरस पत्ता नलाग्ने भएकाले जति धेरै ‘टेस्ट’ गर्‍यो त्यति नै भाइरसलाई नियन्त्रण लिन सजिलो हुने डब्लुएचओले बताएको थियो।  

भाइरसले युरोपलाई केन्द्रविन्दु बनाएर अमेरिका र भारतमा सयौं संक्रमित गर्दासमेत नेपालमा विदेशबाट आउनेहरुको ‘ट्रेसिङ र टेस्टिङ’ मा कुनै जोड दिइएन। ढिलो गरेर हेल्थ डेक्स राखिए पनि विमानस्थलमा शरीरको तापक्रम परीक्षण गर्ने बाहेक अरु खासै काम भएन।  

त्यसैको कारण अहिले नेपाल भाइरस संक्रमणको उच्च जोखिममा छ। विशेषगरी करिब १५ देखि २० दिन अघिसम्म नेपाल आएका मानिसहरुमा भाइरसको संक्रमण देखिने खतरा रहेको छ।  यसबीच हजारौंको संख्यामा नेपाली र विदेशीहरु नेपाल भित्रिएका छन्।

लकडाउनको पाचौं दिनसम्म आइपुग्दा नेपालमा पाँच जनामा भाइरसको संक्रमण देखिएको छ। सबैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै नेपाल आएका हुन्।  

चैत १० गते स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै चैत ४ गते नेपाल फर्किएकी १९ वर्षीय युवतीमा भाइरसको संक्रमण देखिएको घोषणा गरेको थियो। आफै होम क्वारेन्टाइनमा बसिरहेका उनी भियतनामको साथीलाई भाइरसको संक्रमण देखिएसँगै परीक्षण गराउन पुगेकी थिइन्। त्यसपछि कतार र दुबईबाट आएका एकएक जनामा भाइरसको संक्रमण देखियो भने बेल्जियमबाट नेपाल आएकी अर्की एक युवतीमा आजमात्रै भाइरसको संक्रमण देखियो।

चैत ४ गते क्युआर ६५२ विमानबाट कतारबाट काठमाडौं आएकी युवतीसँगै आज संक्रमण पुष्टि भएकी युवती पनि आएकी थिइन्। चैत १० गते दोस्रो संक्रमणको पुष्टि भएसँगै सामाजिक संजालमा उक्त विमानमा आएका मानिसहरुको खोजी भएको थियो।

यहाँ सरकारले ‘र्‍यापिड ट्रेसिङ र टेस्टिङ’ गर्न चुक्यो। सरकारले ती युवतीसँगै आएका सबैको ठेगाना पत्ता लगाएर तुरुन्तै क्वारेन्टाइनमा राख्ने तयारी गर्नु पर्थ्‍यो। जुन हालसम्म पनि भएको छैन। सरकारले विदेशबाट आउने सबैलाई घरमै क्वारेन्टाइनमा बस्ने सम्झौतासमेत गराएको छ। तर, यसको निरीक्षण गर्न सरकार चुकेको छ।

आज संक्रमित युवतीमा समेत दोस्रो केस सार्वजनिक हुँदासम्म ज्वरो आएको बाग्लुङका स्थानीय बताउँछन्। तर, ती युवती अस्पताल नगएको र प्रहरी आउँदासम्म घरमै बसेको उनीहरु बताउँछन्।

उक्त विमानमा बाग्लुङकी दुईजना महिला आएकी थिइन्। प्रशासनलाई स्थानीयले दुबै जनालाई क्वारेन्टाइनमा राख्न आग्रहसमेत गर्‍यो। त्यसपछि मात्रै प्रशासन एक्सनमा आयो। तर, ढिलो भइसकेको थियो।

बाग्लुङ निवासी चिकित्सक नारायण कँडेल भाइरसको केस पत्ता लागि सकेपछि सरकारले ती विरामीको ट्राभल हिस्ट्री ट्रेस गरेर उनीसँग सम्पर्कमा आएका मानिसहरुमा समेत भाइरसको परीक्षण गर्न ढिला गरेको बताउँछन्।

‘उक्त विमानमा बाग्लुङबाट दुई जना आएको थाहा पाएपछि हामीले प्रशासनमा भनेका थियौं। तर प्रशासनले कुनै काम गरेन। उनीहरु निर्वाध रुपमा घुम्दै हिँडेका थिए। एकजनामा ज्वरो आउँदासमेत अस्पताल गएको पाइएन। आज आएर दुई जनामध्ये एक जनामा भाइरस देखियो। अर्कीको परीक्षण पनि भएको छैन,’ उनले भने।

बाग्लुङमा कोरोनाको केस देखिएपछि बाग्लुङवासी त्रसित भएको बताउँछन् उनी। शिक्षण अस्पतालमा कार्यरत चिकित्सक कँडेल भन्छन्, ‘बाग्लुङका सबैजना त्रसित छन्। विमानबाट यहाँ पनि आएका छन् भन्ने धेरैलाई थाहा थिएन। त्यहीअनुसार मानिसहरु खुल्ला रुपमा हिँडिरहे। थाहा पाएपछि सबै घरभित्र नै छ।’

कँडेल हाल बाग्लुङमा पुगेकी अर्की महिलालाई समेत क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुपर्ने र संक्रमित महिलाको सम्पर्कमा आएका सबैको परीक्षण गर्नपर्ने माग राख्छन्।

यता, सरकारले पाँच दिनअघि संक्रमित बनेकी १९ वर्षीय युवतीको परिवारका सदस्यहरुको समेत परीक्षण गरेको नगरेको खुलेको छैन। अझ हालसम्म संक्रमण देखिएका चारै जनासँग को-को सम्पर्कमा आए, उनीहरु कहाँकहाँ गए, यो सबै कुरा ट्रेस गरेर भाइरस फैलिन नदिन ढिला भइसकेको चिकित्सकहरु बताउँछन्।

कँडेल भन्छन्, ‘संक्रमितको पहिचानपछि सरकारले लकडाउन लागू गरेको छ। यो लकडाउन गर्नु भनेको संक्रमण नफैलियोस् भन्नु हो। नागरिकहरु बाहिर हुँदा संक्रमण फैलिने त्रास हुन्छ। तर, सबै जनालाई घरभित्रै राखेर मात्र हुँदैन नि। संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैलाई ट्रेस गर्न समय हो यो। ताकि उनीहरुमा भाइरसको संक्रमण देखिए त्यसलाई नियन्त्रण गर्न सकियोस्।’

हालसम्म नेपालमा ८ सय ७५ जनामा मात्रै कोरोना टेस्ट गरिएको छ। यो परीक्षण निकै कम भएको चिकित्सकहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell