PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

लकडाउनमा कालोबजारी : एउटै मास्कको ७५० रुपैयाँ मूल्य, प्रहरीले गर्‍यो पक्राउ



रासस

लकडाउनमा कालोबजारी : एउटै मास्कको ७५० रुपैयाँ मूल्य, प्रहरीले गर्‍यो पक्राउ

धनुषा : जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि शनिवार जनकपुरधाम-४ का ३६ वर्षीय राजेशकुमार झालाई पक्राउन गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार प्रादेशिक अस्पताल जनकपुरस्थित बजरङ्ग जनरल स्टोरमा मास्क प्रतिथान ७५० रुपैयाँ र पञ्जा प्रतिपोका ५०० रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा झालाई पक्राउ गरिएको हो। झालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी शुक्रवार बढी मूल्य लिएर खाना पकाउने एलपी ग्यास र खाने नुन बिक्री गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका-११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नं १४ बस्ने ४७ वर्षीय नरेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जयप्रकाशलाई ग्यास भण्डारण गरेर राखेर उपभोक्तालाई नदिएको र नरेशले नुन प्रतिकेजी रु ३५ मा बिक्री गरेको भन्दै पक्रउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। यसअघि प्रहरीले बिहीबार आलु, प्याज र ग्यास कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरेको थियो। लकडाउन भएयता जनकपुरबाट कालोबजारी गर्ने १७ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्ने सबैले लकडाउनको मौका छोपेर खाद्यान्न, तरकारी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्री कालोबजारी गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell