PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल एयरलाइन्समा कोरोनाविरुद्धका सामग्री पुर्‍याउन सिचुवान एयरलाइन्सको फ्लाइट, ज्याक मा फाउन्डेसनको सहयोग पनि भित्रियो



विधुर ढकाल

नेपाल एयरलाइन्समा कोरोनाविरुद्धका सामग्री पुर्‍याउन सिचुवान एयरलाइन्सको फ्लाइट, ज्याक मा फाउन्डेसनको सहयोग पनि भित्रियो

काठमाडौं : आइतवार बिहानै चीनबाट स्वास्थ्य सामाग्री बोकेर नेपाल वायुसेवा निगमको विमान काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो।

सरकारले निजी कम्पनीसँग किनेको स्वास्थ्य सामाग्रीसहित चीनले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामाग्री पनि आइतवार नै सोही विमानमार्फत् नेपाल आइपुगेको हो।

सरकारले निजी कम्पनीसँग किनेका गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेका छन्।

निजी कम्पनीले बेच्ने सामाग्री किन्न नेपाल सरकारले चार्टर गरेर विमान पठाएको आरोप लागिरहँदा चीनबाट चीनका विभिन्न संस्था र चीन सरकारले काठमाडौं मार्फत चिनियाँ दूतावासले सहयोग गरेका स्वास्थ्य सामाग्रीसमेत नेपाल आइपुगेको हो।

सो विमान एसियाली धनाड्य तथा चिनियाँ कम्पनी अलिवावाका संस्थापक ज्याक माको ज्याक मा फाउन्डेसनले सहयोग दिएको १.४ मेट्रिक टन बराबरको सामाग्री दिएको छ जुन यसै विमानबाट नेपाल आइपुगेको हो। सो सामाग्री करिब २० लाख युयान बराबरको हो।

त्यस्तै, यही विमानमा चीनको सिचुवान प्रान्तको यिविनबाट पनि नेपाललाई प्राप्त स्वास्थ्य सामाग्रीसमेत नेपाल आइपुगेको छ। नेपाललाई सिचुवानको विविनसँगै चीन सरकारले काठमाडौं स्थित नेपाली दूतावास मार्फत नेपाल सरकारलाई सहयोग प्रदान गरेको स्वास्थ्य सामाग्रीसमेत नेपाल आइपुगेको चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छिन्।

यी सामाग्री १.१ मेट्रिक टन बराबर रहेको छ। यसको मूल्य तीन लाख युयान बढीको रहेको छ।

'दूतावासको सक्रियतामा सिचुवान प्रान्तीय सरकार, सिचुवान प्रोभिन्सियल इन्भेस्टमेन्ट ग्रुप र चिनियाँ दूतावासले उपब्ध गराएको आपतकालीन सामाग्रीहरु पीपीई र थर्मोमिटरहरु ग्वान्चाओबाट छुटेको छ,' त्यहाँबाट विमानले उडान भर्नासाथ चिनियाँ राजदूत होउले ट्वीट गर्दै भनेकी छिन्।

आज आइपुगेको सहयोग सामाग्रीमा ज्याक मा र अलिवावा फाउन्डेसनले सहयोग गर्ने भनिएको सामाग्रीको पहिलो किस्ता पनि नेपाल आइपुगेको हो। टेस्टिङ किटसहितका अन्य सामाग्रीहरु पनि छिट्टै आइपुग्ने चिनियाँ राजदूत होउले जानकारी गराएकी हुन्।

सिचुवानबाट प्राप्त सहयोग बोकेर सिचुवान एयरलाइन्सको विमान ग्वान्चाओ पुगेको थियो। त्यहाँबाट ती सामाग्री नेपाल वायु सेवा निगमको विमान मार्फत नेपाल ल्याइएको हो।

चिनियाँ जाइन्ट इकमर्स कम्पनी अलीबाबाका संस्थापक एवम् एसियाका सबैभन्दा धनाढ्य ज्याक माले शनिवारमात्र कोरोना भाइरस संक्रमण रोकथामका लागि एसियाली मुलुकलाई सहयोगको घोषणा गरेका थिए।

उनले नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालगायत देशलाई मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामाग्री सहयोग गर्ने उनले बताएका थिए।

ज्याकमाले १० लाख ८ हजार मास्क, २ लाख १० हजार कोरोना टेस्ट किट, ३६ हजार प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर सहयोगको घोषणा गरेका हुन्।

चीनमा कोभिड-१९ को संक्रमण विरुद्ध लड्न चिनियाँ सरकारलाई आर्थिकसहित स्वास्थ्य तथा अनुसन्धानमा सहयोग पुर्‍याएको ज्याक मा फाउन्डेशनले चीनमा कोभिड-१९ को संक्रमण नियन्त्रण तर्फ जाँदै गर्दा बाँकी विश्वलाई पनि सहयोगको हात बढाएको छ।

यसअघि फाउन्डेसनले अमेरिकालाई मास्कसहित टेस्ट किटसमेत सहयोग गरेको थियो। फाउन्डेशनले अमेरिकालाई पाँच लाख परीक्षण किट तथा १० लाख मास्क सहयोग गरेको थियो।

त्यस्तै, यस अवधिमा जापान, कोरिया, स्पेन, इरान, कम्बोडिया, इटाली लगायतका देशहरुमा समेत सहयोग गरिसकेको छ।

त्यस्तै, आइतवार पनि उनले दक्षिण अमेरिकाका २४ देशलाई २० लाख मास्क, चार लाख मास्क र १०४ वटा भेन्टिलेटर सहयोग गर्ने घोषणा गरेका थिए।

आइतवार नै ज्याक मा फाउन्डेसनले अफ्रिकी देशहरुका लागि ११ लाख टेस्टिङ किट, ६० लाख मास्क र ६० हजार प्रोटेक्टिभ सुट अफ्रिका पठाएको थियो।

ज्याक माले 'एउटै विश्व एउटै लडाई' नारासहित सहयोगको घोषणा गर्दै आएका छन्। सोही अनुरुप ज्याक मा फाउन्डेशनले 'एउटा विश्व एउटै मुटु एउटै लक्ष्य' नारासहित सहयोग पठाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell