PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सेल्फ क्वारेन्टाइनको फुर्सद : सिङ्गो बस्ती नै 'भाइजर बनाउँदै' बाँड्दै

सेल्फ क्वारेन्टाइनको फुर्सद : सिङ्गो बस्ती नै 'भाइजर बनाउँदै' बाँड्दै

प्रवीण रानाभाट/पहिलोपोस्ट


डिल्लीबजार पिपलबोटबाट पचास मिटरभित्र एउटा सानो बस्ती छ- जस्ता पाताले बनेका टहरै टहराको। २२ जना मानिस रहन्छन् त्यहाँ। उनीहरुको दैनिकी ज्याला मजदुरी गरेरै चलेको थियो। तर, गएको मङ्गलवारदेखि देश लकडाउन हुँदा उनीहरुको काम रोकिएको छ।

फुर्सद छ। अभाव पनि। तर, कोरोना भाइरस संक्रमण जोगिनकै लागि पनि सरकारको निर्णयले खुशी छन् यहाँका मानिस।

उनीहरुको पनि दिन अरुहरुकै जस्तो समाचार हेरेर बित्छ। तर, कतिन्जेल यसरी नै बिताउनु? बस्तीका अमित मेचेले आफैसँग प्रश्न गरे।

गत बुधवार समाचारहरुमा पीपीईको खबर पटकपटक सुने। के रहेछ त पीपीई? भनेर गुगल गरे। थाहा पाए यो त 'पर्सनल प्रोटेक्सन इक्युपमेन्ट' रहेछ। अनि त्यसमा थुप्रै सामाग्रीहरु हुँदा रहेछन्।

'फोटोमा भाइजर पनि देखे। फेस सिल्ड लेखिएको थियो। प्लास्टिकको रहेछ, सकिन्छ भने बनाउनु पर्‍यो भनेरै आँटेँ', अमितले सुनाए।

उनको योजना त बस्तीमा रहेका मानिसहरुको सुरक्षाका खातिर भाइजर बनाउने थियो। तर 'ए फोर साइज'को प्लास्टिक, इलास्टिक र केही थान कपडा त सहजै उपलब्ध हुने रहेछ- आफ्ना लागि बाहेक थप अरुलाई बनाउन पुग्ने।

प्रभावकारी हुनेजस्तो देखेपछि उनले आवश्यक सामाग्रीको मात्र थपे।

'ट्राफिक, पुलिस अनि अनुमति पायौं भने स्वास्थ्यकर्मीका लागि पनि बनाउने योजना बनायौं,' उनलाई साथ दिए बस्तीकै खडानन्द सिलवालले जो लकडाउन अघि ठेलामा तरकारी बेचेर गुजारा चलाउँथे।

दुई मिलेर सामान किने। बस्तीमै सिलाइ मेसिन चलाउने लक्ष्मी श्रेष्ठलाई सिलाइको जिम्मा दिए। एउटा भाइजर सिलाएको पाँच रुपैयाँ दिने प्रस्तावसहित। श्रेष्ठ तयार भइन्।

तीन दिनयता दुई सयभन्दा बढी भाइजर बनाइसके उनीहरुले। शुक्रबार मैतिदेवी आसपास खटिएका प्रहरीलाई सहयोग स्वरुप बाँडे।

'उपयोगी हुन्छ जस्तो लागेर बनाएका हौं। उहाँहरुले प्रयोग गर्नु भयो,' अमितले भने, 'खाली बस्नुभन्दा केही गर्नु ठीक भन्ने सोचेर यो सुरुवात गरेका हौं। राम्रो भयो भने आवश्यक मात्रामा बनाउँदै जान्छौं।'

अमितका झापामा रहेका साथीहरुले पनि यस्तै भाइजर बनाएर आवश्यक परेको ठाउँमा प्रदान गरिरहेका छन्।

यसरी बनाएको फेस सिल्ड/ भाइजरको एउटामा पन्ध्रदेखि बीस रुपैयाँसम्म खर्च हुन्छ। दैनिक ६० देखि सय वटा सम्म बनाइ रहेका छन्। यस कामका लागि वस्तीका हरेक परिवारको कोही सघाउन पुग्छन्। उनीहरुले उत्पादन गरेका भाइजर कति सुरक्षित हुन्छ, त्यो चाहिँ कसैले खोजेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell