PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

उपत्यका बाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु, ७ वटै प्रदेशमा मोबाइल ल्याब



पहिलोपोस्ट

उपत्यका बाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु, ७ वटै प्रदेशमा मोबाइल ल्याब

काठमाडौं: सरकारले काठमाडौं उपत्यका बाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यका बाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमूना परीक्षण सुरु गरिएको जानकारी दिएका छन्।

ज्ञवालीले अन्य ठाउँमा पनि चाँडै विस्तार गरिने उल्लेख गरेका छन्। ज्ञवालीले ट्वीटरमा लेखेका छन्, 'अत्यावश्यक स्वास्थ्य सामग्री आइपुगेका छन्। धरानबाट नमूना परीक्षण सुरू भएको छ, छिटै अन्यत्र पनि विस्तार गरिँदैछ। सीमा होलान्, तर विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारी विरुद्ध सरकार सम्पूर्ण शक्तिकासाथ लागेको छ। विनम्र अनुरोध-अहोरात्र खटिरहेकाहरूलाई साथ दिनोस्, हौसला दिनोस्।'

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ७ वटै प्रदेशमा मोबाइल ल्याब सञ्चालन गरिने बताएका थिए। आज चीनबाट मोबाइल ल्याब लगायत सामग्री आएसँगै प्रदेश पठाइने स्वास्थ्य मन्त्रालयको तयारी छ।

यसअघि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस संक्रमण भए नभएको नमूना परीक्षण गरिँदै आएको थियो। प्रदेशबाट थ्रोट स्बाब यहाँ पठाएर देशभरको परीक्षण हुँदै आएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार चीनबाट सामग्री आएकाले अब हेटौँडा, नेपालगञ्ज र पोखराबाट पनि नमूना परीक्षण गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell