
जाजरकोट : चारैतिर कोरोनाको जोखिम बढेका बेला जाजरकोटमा वैदेशिक रोजगारीबाट फर्कनेदेखि अन्य कामले घरबाहिर भएकाहरु स्वास्थ्य परीक्षण छल्न धमाधम चोरबाटोबाट गाउँ फर्किँइरहेको पाइएको छ। गाउँगाउँमा सुरक्षितरूपमा बस्न आग्रह गर्दा पनि कसैले नमानेको स्थानीय सरकारले जनाएको छ। बाटोमा स्वास्थ्य जाँच भइरहेको ठाउँमा सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली खटिएको भए पनि अर्को (चोर) बाटो प्रयोग गरेर गाउँमा छिर्नेको सङ्ख्या ठूलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। जिल्लाका सबै पालिकामा यही समस्या देखिएको छ।
प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरुले लगातार गाउँगाउँमा माइकिङ गरिरहेको भए पनि कसैले वास्ता नगरेको उनको भनाइ छ। उनका अनुसार गाउँहरु स्थानीय सरकारले प्रवाह गरेको सन्देश नमानेर देवीदेवतालाई बलि दिन देवीदेवताका मन्दिर तथा थानमा पुगेका छन्। छिमेककी मुलुक भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरु धमाधम घर फर्किएका छन्। उनीहरु आफूलाई केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाईसँग घुलमिल गरिरहेका छन्। सङ्क्रमण भए पनि तत्काल लक्षण नदेखिँदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ। अहिलेसम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्याङ्क राखेको छैन। ठूलो सङ्ख्यामा भारतबाट मजदुरहरु फर्के पनि केही सीमित सङ्ख्यालाई मात्र क्वारेन्टाइनमा राखिएको छ।