PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लकडाउन लम्बिने चर्चासँगै खाद्यमा इन्डक्सन चुल्हो किन्नेको भिड

लकडाउन लम्बिने चर्चासँगै खाद्यमा इन्डक्सन चुल्हो किन्नेको भिड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले पनि उपत्यकका विभिन्न स्थानमा सामानहरु बिक्री गरिरहेको छ। सरकारले घोषणा गरेको लकडाउनको समय थपिने भएपछि थापाथलीमा रहेको खाद्यमा इन्डक्सन चुल्हो किन्नेको भिड लागेको छ।

रामशाहथपस्थित संस्थानको बिक्री काउन्टरमा इन्डक्सनको स्टक सकिएकाले मानिसहरु थापाथली केन्द्रित भएका हुन्।

'यहाँ भएको चुल्हो बिक्री भइसक्यो। अब साँझसम्म मात्र आउँछ,' बिक्री काउन्टरमा रहेकी कर्मचारीले भनिन्।

यहाँ पुगेका ग्राहकहरु त्यसपछि थापाथली जान वाध्य भए। त्यसैले पनि होला थापाथलीमा उपभोक्ताको लाइन लामै देखियो। एक मिटरको दुरीमा सामाजिक दुरी कायम गर्दै इन्डक्सन चुल्हो किन्नका लागि उपभोक्ता लाइनमा बसेका छन्। इन्डक्सनसँगै दाल, चामल किन्नेहरुको पनि घुइँचो छ।

कम्पनीले सुरु गरेको बिक्री कक्षमा लकडाउनपछि मात्रै तीन हजार पाँच सय भन्दा बढी विद्युतीय चुलो बिक्री भइसकेको कम्पनीकी सूचना अधिकृत सर्मिला सुवेदीले बताइन्।

लकडाउनमा उद्योग धन्दा बन्द भएपछि विद्युतको माग ह्वात्तै घटेको छ। उद्योग धन्दा बन्द भएपछि विद्युतको आपूर्ति बढी छ। त्यसैले नेपाल विद्युत प्राधिकरणले पनि उपभोक्तालाई इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ। सरकारले पनि चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ। बजारमा ग्यासको अभाव भएर मानिसमा इन्डक्‍सनमा मोह बढेको छ।

'लाइन नजाने र महशुल पनि कम भएपछि इन्डक्सन लिन आएको हुँ,' चुल्हो किन्न आएका समिर पौडेलले भने।

अहिले खाद्यमा सबैभन्दा धेरै चुल्होको नै बिक्री भएको छ।

नाकाबन्दीको समयमा चीनले अनुदानमा ११ हजार थान इन्डक्सन चुल्हो पठाएको थियो। सुरुमा ११ हजार ९६ रुपैयाँ मूल्य तोकेर बिक्री गरिएको थियो। तर, सोचेअनुसार इन्डक्कसन चुल्हो बिक्री भएन। त्यसपछि मूल्य घटाएर ४ हजार पुर्‍याइएको हो। त्यही बिक्री नभएको इन्डक्सन चुलो अहिले भने धमाधम बिक्री भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell