PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतबाट दैलेख आएकाको संख्या ९०० बढी, क्वारेन्टाइनमा भने १६ जना मात्रै



रासस

भारतबाट दैलेख आएकाको संख्या ९०० बढी, क्वारेन्टाइनमा भने १६ जना मात्रै
फोटो : रासस।

दैलेख : विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलन कार्यलाई तीव्र बनाएको छ। पछिल्लो जानकारीअनुसार भारतबाट दैलेख आउनेको संख्या ९०४ पुगेको छ।

जिल्लाको आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले नगरपालिकामा ४५० नागरिक भारतबाट आएको बताए। संख्या अझै बढ्नसक्ने उनको भनाइ छ। ज्वरोका बिरामीको संख्या बढेसँगै सर्तकता पनि बढाइएको उपाध्यायले जानकारी दिए। पालिकाका सबै वडामा कीटनाशक औषधि छर्कने, वडा अध्यक्षहरुमार्फत स्वास्थ्य अवस्थाको जानकारी लिने, मास्क लगाउने, घरबाट बाहिर नजाने भन्दै जनचेतना फैलाउने काम तीव्र पारिएको उनले बताए।

नारायण नगरपालिकामा १३०, डुगेश्वर गाउँपालिकामा ४७, भगवतीमाई गाउँपालिकामा ३५, चामुण्डा बिन्द्रासैनीमा ४९, गुराँस गाउँपालिकामा २७, ठाँटीकाँधमा १५६, महावुमा नौ जना भारतबाट फर्किएका छन्। अन्य पालिकाको विवरण अझै आउन बाँकी छ। दैलेखमा चार नगरपालिका र सात गाउँपालिका छन्।

भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए। जिल्लाको आठवीस नगरपालिकाका एकै परिवारका १६ जनालाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ। परिवारका दुईलाई निरन्तर ज्वरो आएपछि आइसोलेसनमा राखिएको र परिवारका बाँकी १४ लाई क्वारेन्टाइनमा राखिएको हो। दुई जनाको कोरोना जाँचका लागि नमूना पठाइएको छ।

अन्य सबैलाई पालिकास्तरमा रहेका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने निर्देशन जिल्ला प्रशासन काकार्यालले दिएको भए पनि चुनौती बढ्न सक्ने भन्दै स्थानीयवासी त्रसित बनेका छन्। जिल्लाका विभिन्न स्थानमा १३८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार ३३ वटा आइसोलेसन शय्या र तीन वटा हाइकेयर युनिट तयार भएकोे छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell