
जाजरकोट : जाजरकोटमा विदेशबाट आएका ५८ सहित नेपाली सेनाका ४९ जवानहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो। छिमेकी मुलुक भारत तथा मलेशिया, दुबई, कतारलगायतका देशमा वैदेशिक रोजगारीबाट फर्केका ५८ जनालाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको हो।
जिल्ला प्रवेश गरेलगत्तै उनीहरुलाई आवश्यक परामर्शसहित १४ दिन घरमै क्वारेन्टाइन बस्न लगाइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। सेल्फ क्वारेन्टाइनमा बस्ने भेरी नगरपालिकामा २९, शिवालय गाउँपालिकामा १८, छेडागाड नगरपालिकाको वडा नं ३, ६ र १० मा आठ, बारेकोट गाउँपालिका–९ मा तीन जना रहेका छन्। यसैबीच नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणमा जिल्ला बाहिरबाट आएका ४९ सैनिकलाई पनि क्वारेन्टाइनमा राखिएको छ।