
धनुषा : विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका बेला प्रदेश २ को राजधानी जनकपुरधाममा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन्। जनकपुरधाम उपमहानगरपालिका–८ स्थित १२ बिघा रङ्गभूमि मैदानमा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका हुन्। माटोको गिलास, कप र प्लेटलगायत सामग्रीको व्यापार गर्दै आएका भारत महाराष्ट्र भोपाल जिल्ला बताउने ती व्यक्ति १२ बिघा रङ्गभूमि मैदानमा अलपत्र अवस्थामा प्लाष्टिकको पालभित्र बसेका हुन्।
अस्थायी पालमा बस्दै आएका ३५ वर्षीय कृपाल भोसलेका तीन बच्चा र पत्नी रहेको छ। व्यापार गर्ने क्रममा परिवारसहित आएका भोसलेको बस्ने, सुत्ने र खानेलगायतका सरसफाइका बारेमा खासै ज्ञान छैन।
‘जीवन जिउनु छ, जसरी पनि बाँचिरहेका छौँ, पाँच दिन अगाडि मोटरसाइकलले छोरी राजश्री भोसलेको खुट्टामा घाउ लागेर पाँच हजार रुपैयाँ उपचारमा खर्च भइसक्यो’, उनले भने, ‘मोटरसाइकल चालक फरार भएपछि अहिले छोरीको उपचार गर्ने, खाना खानेसमेत पैसा छैन।’
भारत जाने कुनै उपाय नरहेकाले जसोतसो आफूहरु जीवनयापन गर्दै आएको भोसलेले बताउँछन्।
विश्वभर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउँदै नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि दैनिक गुजारा गर्दै जीवनयापन गर्दै आएका यी व्यक्तिको अवस्था नाजुक भएको छ। दैनिक मजदूरी र व्यापार गरेर जीवनयापन गर्दै आएका यी ४० व्यक्ति अहिले बिचल्लीमा परेका छन्। अस्थायी पालभित्र चर्को घाममा बस्नुपर्ने बाध्यता छ, वर्षा परेको खण्डमा आफूहरुलाई बस्न अझै समस्या हुने भएकाले आफूहरुलाई सहयोग गर्न ५५ वर्षीय कैलाश भोसलेले आग्रह गरेका छन्।
खुला स्थानमा सामान्य पातलो प्लाष्टिक झुण्ड्याएर बालबच्चासहित बसोबास गर्दै आएकाले यी ४० व्यक्ति जुनसुकै बेलामा कुनै प्रकारको रोग र भाइरसको शिकार हुनसक्ने जोखिमपूर्ण अवस्थामा छ। सरसफाइदेखि लिएर शौचालय र खानेपानीकोसमेत कुनै व्यवस्था नरहेपछि दुई महिनादेखि अस्थायी पालमा बस्दै आएको रामकुमारी भोसलेले बताइन्। अस्थायी पालमा १० जना बालबालिका पाँच वर्षमुनिका छन्। बालबालिकाको सरसफाइ र लुगाकपडासमेत अभाव रहेको छ।
यता ४० व्यक्ति निकै जोखिमपूर्णरुपमा खुला स्थानमा रहे पनि अहिलेसम्म कुनै पनि संघसंस्था वा व्यक्तिले आफूहरुको अवस्थाबारे कुनै चासो नलिएको राजकुमारले बताए।
उनले भने, ‘हामी भारत पनि जाने अवस्थामा छैनौँ। निकै चिन्ता लागि रहेको छ। हामीलाई भारत जाने वातावरण मिलाइदिए जान्थ्यौँ।’