PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दैनिक मजदुरी बन्द भएपछि ऋषिदेव टोलमा छायो बेचैनी, ‘सरकारले हाम्रो २ छाकको व्यवस्था गरोस्’



अनन्तराज न्यौपाने

दैनिक मजदुरी बन्द भएपछि ऋषिदेव टोलमा छायो बेचैनी, ‘सरकारले हाम्रो २ छाकको व्यवस्था गरोस्’

विराटनगर : झुपडीछेउ नुन र खुर्सानीसित मात्र भात खाइरहेका बद्री ऋषिदेवलाई अब २ दिनपछि के पकाउने भन्ने चिन्ता छ। खेतको माटो काटेर ट्रयाक्टरमा लोड गर्ने उनको पेशा ७ दिनदेखि बन्द छ।

दैनिक मजदुरी बन्द भएपछि बद्री छेउको दोकानमा गए। दोकानले उधारो पत्याएर दिएको चामल अब २ दिनपछि सकिन्छ। त्यसपछि के खाने मात्र नभई दोकानको उधारो कसरी तिर्ने भन्ने समस्या पनि छ।

‘२ छोराहरू छुट्टिएर टाढा गए’, बद्रीले भने, ‘यो झुपडीमा बुढी र म मात्र छौँ। दैनिक ज्यालादारी गरेर हामी पालिएका छौँ। तर, सात दिनदेखि केही काम छैन। घरमै समय गुजारिरहेका छौँ।’

विराटनगर महानगरपालिकाको वडा नम्बर १२ बखरीको ऋषिदेव टोलका वर्ष ३६ का चन्द्र ऋषिदेव काठ मिस्त्री हुन्। उनको पेशा पनि अहिले बन्द छ। मङसिर–पुसमा चन्द्रकी श्रीमती र छोराछोरीहरू ज्यालाबापत धान नै पाउने गरी धान काट्न र दाइँ गर्न जान्थे। त्यही बेलाको ज्यालाको धान कुटाएर अहिले भात खाइरहेका छन्।

‘दाल–सब्जी भन्ने कुरा त सपना भयो, भात मात्र भेटे पुग्योे’, चन्द्रले भने, ‘त्यही धान कुटाएको चामल अब ३–४ दिन पुग्ला अनि कसरी पेट पाल्ने केही बाटो छैन।’

ट्र्याक्टरमा केसलियाको खोलाको बालुवा भरेर आफू र आफ्नो परिवारको गुजारा गरिरहेका २६ वर्षीय कुन्दन ऋषिदेव पनि अहिले बेरोजगार भएका छन्।

‘लकडाउन लम्बिन्छ भन्ने सुनिँदैछ’, युवक कुन्दनले भने, ‘यदि हामी बेरोजगार नै हुनुपर्छ भने सरकारले हाम्रो २ छाकको व्यवस्था गरोस्।’

खेतबारीमा हलो जोतेर घरबार चलाइरहेका सान्देव ऋषिदेव पनि घरमा सबैसित आराम गरिरहेका छन्।

‘बाहिरबाट हेर्दा आराम देखिन्छ तर यो ऋषिदेव टोलका कसैलाई पनि भित्रबाट चैन छैन’, सान्देव भन्छन्, ‘यो टोलमा अहिले खाए भरे के खाउँ भन्ने वर्गका मान्छे छन्। त्यसैले अब गाउँमा खानेकुराको चिन्ता थपिन थालेको छ।’

खानेकुरा पर्याप्त नभए पनि ऋषिदेव परिवारको ८० घर भएको यो टोलमा कोरोना भाइरसको संक्रमण र यसबाट कसरी बच्ने भन्ने चेतना पुगेको छ। धेरैजसोले मास्क लगाएका छन् र साबुन पानीले हात धोएका छन्।

‘स्कुल जाने छोराछोरीले घरका बाउआमालाई सम्झाएका छन्’, कुन्दनको भनाइ थियो, ‘छोराछोरीलाई स्कुल नपठाएको भए यो टोलमा पनि कोरोना आइसक्थ्यो होला। यति बेला धेरैजना सजग र सतर्क छन्।’

टोलमा पहिलेझैँ एक अर्काको घर जाने, छेउको मन्दिरमा वा रुखका छहारीमुनि बसेर तास वा लुडो खेल्ने अनि रातिराति रक्सी खाएर मात्ने क्रम भने लकडाउनयता नियन्त्रण भएको अवस्था छ। जसरी होस्, सबै आआफ्नै घरमा बस्ने अभ्यास गरिरहेका देखिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell