PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना भाइरसविरुद्ध लड्न रोनाल्डोको सहयोग, यसअघि मेस्सीले पनि गरेका थिए दान



पहिलोपोस्ट

कोरोना भाइरसविरुद्ध लड्न रोनाल्डोको सहयोग, यसअघि मेस्सीले पनि गरेका थिए दान
PHOTO : REUTERS

पोर्चुगलका विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्धको लडाईंमा साथ दिँदै सहयोगको हात अगाडि बढाएका छन्। रोनाल्डोले फुटबल एजेन्ट एवं व्यापारी जोर्ज मेन्डेससँग मिलेर राजधानी लिस्बनस्थित सान्टा मारिया अस्पताललाई जीवनरक्षक उपकरणहरु प्रदान गरेका हुन्।

दुबैले सान्टा मारिया अस्पतालमा दुई वार्डका लागि आवश्यक उपकरण सहयोग दिएको रोयटर्सले जनाएको छ। प्रत्येक वार्डमा १० वटा बेड, भेन्टिलेटर, हर्ट (मुटु) मोनिटर, इन्फ्युजन पम्प र सिरिञ्जहरु उपलब्ध गराएको अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

पोर्चुगलभित्रको दोस्रो ठूलो सहरको अस्पताल सान्टो एन्टिनियो अस्पतालमा पनि यी दुबैले १५ वटा आइसीयू बेड, आवश्यक भेन्टिलेटर, मोनिटर र अन्य उपकरण सहयोग गर्नेछन्। सहयोगपछि अस्पतालको तीन वार्डमा रोनाल्डो र जोर्जको नामबाट नामाकरण गरिनेछ।

सान्टो एन्टिनियो अस्पतालका अध्यक्ष पाउलो बार्बोसाले विपत्तिको समयमा महत्वपूर्ण पहल र सहयोगका लागि रोनाल्डो र जोर्जलाई सहयोगका लागि धन्यवाद दिएका छन्।

यी सहयोग मेडिरा स्वास्थ्य विभागमार्फत गरिएको हो। पोर्चुगलको स्वास्थ्य निर्देशनालयको प्रतिवदेनअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या एक सयको हाराहारीमा छ भने २ हजार बढी संक्रमित छन्।

यसअघि अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले पनि कोरोना भाइरसविरुद्ध लड्न बार्सिलोनाको एक अस्पताललाई १० लाख युरो सहयोग गरेका थिए। बार्सिलोना क्लबका म्यानेजर पेप गार्डियोलाले पनि अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि एक मिलियन युरो सहयोग प्रदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell