
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका प्राध्यापकले एमफिलको भर्चुअल अनलाइन कक्षा सञ्चालन गरेका छन्। कोरोना भाइरसको विश्वव्यापी महामारीले विश्वविद्यालयका सम्पूर्ण पठनपाठन ठप्प भएपछि इन्टरनेटका माध्यमबाट प्राध्यापक र विद्यार्थी भेला भएर भर्चुअल कक्षा सञ्चालन गरिएको हो।
प्राध्यापकद्वय डा महानन्द चालिसे र डा धुव्र कुमार गौतमले आइतबार व्यवस्थापन संकायको एमफिलका विद्यार्थीलाई भर्चुअल कक्षामार्फत पढाएका छन्। यो क्लास हप्तामा तीन पटकसम्म सञ्चालन हुने व्यवस्थापन संकायको एमफिल कार्यक्रमका निर्देशक प्राडा चालिसेले जानकारी दिए। क्लासमा कोर्स बुकबारे दुइतर्फी छलफल हुने उनको भनाई छ। 'कोर्समा फोकस भएर छलफल हुन्छ। विद्यार्थीका जिज्ञासा सुन्ने र हामीले त्यसमा सुझाव दिने गरेका छौं,' उनले भने।
एमफिलका विद्यार्थीद्वय शम्भु पोखरेल र प्रविण ज्ञवालीले अहिले विश्व नै संकटका परेका बेला इन्टरनेटका माध्यमबाट फेस टु फेस अन्तरक्रिया हुँदा क्लास प्रभावकारी भएको अनुभव सुनाए। 'जुम प्रविधि प्रयोग गरेर क्लास भयो। यसमा एक सय जनासम्म विद्यार्थी सहभागी हुन मिल्छ,' प्रविणले भने।
भर्चुअल क्लासको व्यवस्थापन त्रिवि व्यवस्थापन संकाय एमफिल कार्यक्रमका संयोजक प्राडा चालिसले महामारी र लकडाउन भए पनि उच्चस्तरीय अन्तर्राष्ट्रिय मान्यतासँग सम्बद्ध कक्षा लम्ब्याउन नमिल्ने र नयाँ शैक्षिक सत्र समयमै चलाउनुपर्ने बाध्यता भएकाले घरमै बसेर नयाँ प्रविधि प्रयोग गरि भर्चुअल कक्षा सञ्चालन गरिएको बताए। एमफिलमा ३० जना विद्यार्थी अध्ययनरत छन्।