PahiloPost

Jan 10, 2026 | २६ पुष २०८२

धारचुलामा ६ सय नेपाली अलपत्र, 'हुरीसहित ठूलो पानी परिरहेको छ, विरामी भएर बगरमै मरिएलाजस्तो छ'



पहिलोपोस्ट

धारचुलामा ६ सय नेपाली अलपत्र, 'हुरीसहित ठूलो पानी परिरहेको छ, विरामी भएर बगरमै मरिएलाजस्तो छ'

काठमाडौं: कोरोना भाइरसको जोखिमका कारण भारतबाट फर्किएका ६ सय नेपाली दार्चुलाजिल्लासँग जोडिएको धारचुलास्थित महाकाली नदी किनारमा अलपत्र परेका छन्।

शुक्रबार राती दुई सय नेपालीको उद्धार गरेका बेला भारतबाट आएका थप ६ सय नेपाली सीमामा रोकिँदा अलपत्र परेका हुन्। अहिले धारचुलामा हावाहुरीसहित भीषण वर्षा भइरहेको छ। ओत लाग्ने ठाउँसमेत नहुँदा नेपालीहरु नदी बगरमा खुला आकाशमा पानीले भिजेका छन्। पानीमा भिज्दा विरामी हुने चिन्ता उनीहरुको छ। उनीहरुका साथमा बालबच्चा पनि छन्। दुई दिनदेखि अलपत्र उनीहरुले खाना समेत पाएका छैनन्। महाकालीको पानी खाएर तिर्खा मेटाएका छन्। दुई दिनमा एक छाक मात्रै खाएको उनीहरुले सुनाए।

बगरमा दुई दिनदेखि अलपत्र नेपाली युवा दिलेन्द्र महताले पहिलोपोस्टसँग भने, 'पानी परिरहेको छ, हावाहुरी पनि चलेको छ। यहीँ विरामी भएर मरिएला जस्तो छ।' उनले ६ सय जना नदी किनारमा जम्मा भइसकेको र अझै आउने क्रम जारी रहेको बताए। भारतीय प्रहरीले नेपालतिर जान झोलुंगे पुलको ताल्चा खोल्न तयार भए पनि दार्चुला प्रशासनले वेवास्ता गर्दा दुई दिनदेखि बगरमै बास भएको उनको गुनासो छ।

आफूहरु क्वारेन्टाइनमा पनि बस्न तयार रहेको तर स्वदेश फर्किन पाउनुपर्ने नेपालीहरुको माग छ। उनीहरुले आइतबार अपराह्न दार्चुला जान पाउनुपर्ने भन्दै धारचुलामा नाराबाजी समेत गरेका थिए।

'नाराबाजीपछि भारतीय प्रशासनले फर्काउने आश्वासन दिँदै फकायो। तर, फिर्ता पठाएन,' महताले भने। उनीहरुले 'आफ्नो जनता फिर्ता ले, नेपाल सरकार मुर्दावाद' जस्ता नारा लगाएका थिए।

स्वदेश फर्किन आफ्नै प्रशासनले प्रवेश नदिएको र भारतीय बजारतिर जाँदा लकडाउन भन्दै भारतीय पुलिसले धपाउने, ढुंगाले हान्ने गरेको दुखेसो महताले महाकाली बगरबाट पानीमा भिज्दै सुनाए।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले अलपत्र नेपालीहरुको उद्धारको लागि पहल भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell