
काठमाडौं : 'मेरो घरमा विदेशबाट आएका मानिस बसिरहेका छन्। तपाईँहरु आएर निकाल्दिनु पर्यो।'
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एक सय नम्बरको फोनमा कसैले भनिरहेको थियो। प्रहरी नै के गर्ने अलमलमा पर्यो। विदेशबाट आएको भन्दैमा कसरी निकाल्नु? अनि केही दिन अघिमात्र विदेशमा आएकालाई सम्पर्कमा ल्याउने जिम्मेवारी पनि प्रहरीकै काँधमा आएको छ।
त्यसैले प्रहरी 'मुभ' नहुने कुरै भएन। प्रहरी फोनमा भनिएकै घरमा पुग्यो। फोन गर्ने घरबेटी रहेछन्। डेरामा बस्ने मानिस भर्खरै विदेशबाट आएको जानकारी पाएपछि कोठाबाट निकाल्न भन्दै प्रहरीलाई फोन गरेका रहेछन्।
प्रहरी घरमा पुगेर हेर्दा एक जना विदेशबाट आएको खुल्यो। तर, केही समय अगाडि थियो। उनलाई कोरोनाको संक्रमणका केहि लक्षण देखिएका थिएन। तर, घरबेटी कोठा छोडाउन चाहन्थे। डेरावाल चाहिँ निस्किन चाहँदैन थिए।
'हामीले सबै हेरेपछि त्यही घरमा नै कोठामा बस्नु बाहिर ननिस्कनु कुनै संक्रमणको लक्षण देखिए अस्पताल जानु होला भनेर आएका छौं,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले भने।
सरकारले लकडाउन घोषणा गरेको आज सात दिन भएको छ। कसैलाई पनि घर बाहिर ननिस्किन भनिएको छ। निस्किए प्रहरीले कारबाही गर्छ। तर, लकडाउनको समयमा प्रहरीको सय नम्बरमा सबैभन्दा धेरै फोन कोरोना र लकडाउनलाई नै लिएर आउने गरेको छ।
त्यसो त सरकारले कोरोनाको कहरका कारण जनतालाई राहत दिने घोषणा गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले घरबेटीलाई डेरावालसँग भाडा नलिन आग्रह गरेको थियो।
टोलमा विदेशबाट आएका र विदेशी देखिए, सडकमा निस्किएर के कारबाही हुन्छ? कति दिनसम्म लकडाउन हो? तरकारी किन्न जान पाइन्छ कि पाइँदैन? जस्ता प्रश्न बोकेर प्रहरीको सय नम्बर बजिरहेको छ।
'अहिले त सबैभन्दा धेरै कल लकडाउन र कोरोना नै जोडिएर आउने गरेको छ,' एसएसपी ज्ञवालीले भने।
चैत १० गतेदेखि १५ गतेसम्म प्रहरीको एक सय नम्बरमा दैनिक ४ हजार भन्दा बढी कल आउने गरेको छ। जसमा औशत ३ हजार ७ सय कल त कोरोना सम्बन्धि नै छन्। पाँच दिनको अवधिमा ३२ हजार १ सय १० वटा कल आएका छन्। जसमध्ये २८ हजार ८ सय ३६ कल कोरोना सम्बन्धि नै रहेको छ।
प्रहरीमा कोरोना सम्बन्धि जानकारीका लागि आउने कलको सङख्या दैनिक बढ्दै गएको छ। गएको सोमवार कोरोना सम्बन्धी ३७ सय ८१ वटा कल आएका थिए। सरकारले त्यसको भोलिपल्ट लकडाउन गर्यो। कलको सङख्या झनै थपियो। पुग्यो ३९ सय ५२।
त्यसपछि कल आउने सङ्ख्या झनै बढ्यो बुधवार ६ हजार ६ सय जनाले कल गरे। 'जानकारीका लागि आउने फोनको सङख्या बढेको छ,' एसएसपी ज्ञवालीले भने।