PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

५ सय ७० जना कोरोनाबाट प्रभावित हुँदा युएईमा रहेका पौने ३ लाख नेपाली कति प्रभावित?



पहिलोपोस्ट

५ सय ७० जना कोरोनाबाट प्रभावित हुँदा युएईमा रहेका पौने ३ लाख नेपाली कति प्रभावित?

आइतवारमात्रै संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो। यहाँ हालसम्म ५ सय ७० जना कोभिड - १९ संक्रमित छन्। जसमध्ये १ सय २ जना नयाँ संक्रमित संख्या आइतबार मात्रै पुष्टि भएको हो। सुखद् नै मान्नुपर्छ आइतवार १ सय २ जनामा नयाँ संक्रमण थपिँदा नेपाली भने परेनन् भलै संक्रमित हुनेहरुमा विदेशीको संख्या उल्लेख्य रह्यो। पौने ३ लाख नेपाली रहेका युएईमा उनीहरुको अवस्था कस्तो छ त? नेपालीको महत्वपूर्ण श्रमबजारका रुपमा रहेको युएईमा कोरोनाको कहरले कस्तो रुप लिँदैछ त? हामीले यिनै सन्दर्भमा युएईका लागि नेपाली राजदूत कृष्ण ढकाललाई सोध्यौं - युएईमा कोरोनाका कारण नेपालीको अवस्था कस्तो छ त? उनीसँगको कुराकानीको अंश:

कोरोनाले विश्वव्यापी रुपमा गाँजिसकेको छ। युएईमा रहेका नेपालीहरु यसबाट कति प्रभावित छन्?

मध्यपूर्वमा सबैभन्दा पहिलो पटक कोरोना भाइरस युएईमा नै देखिएको हो। पछिल्लो समय यसको संक्रमण केही बढेको देखिन्छ। अहिलेसम्म यहाँ ५ सय ७० जनामा कोरोनाको संक्रमण देखिएको छ। यसैका कारण ३ जनाको मृत्यु भएको छ। कोरोनाबाट ५८ जना पूर्ण रुपमा रिकभर भएर सामान्य जीवनमा फर्किसकेका छन्।

यहाँ रहेका नेपालीमध्ये ६ जनामा अहिलेसम्म संक्रमण देखिएको छ। उहाँहरुमध्ये दुई जना ठीक भइसक्नु भयो। बाँकी ४ जनाको उपचार भइरहेको छ। युएई सरकारले कोरोना नियन्त्रणका लागि जुन मेजर अपनाएको छ त्यसलाई हेर्दा डराउनुपर्ने अवस्था छैन। जसरी विस्तार भएको छ, आत्तिहाल्नुपर्ने अवस्था होइन। तर, सतर्क रहिरहनुपर्ने अवस्था भने छ।

कोरोनाले प्रभावित पारिरहँदा त्यहाँ रहेका नेपालीहरु चाहिँ कत्तिको सुरक्षित महसुस गरिरहेका छन्? उनीहरुको तपाईँहरुसँग कस्तो चासो हुने गरेको छ?

स्वभाविक रुपमा सबैजनामा अब के होला भन्ने चासो हुनु स्वभाविक हो। तर, अधिकांश नेपालीले यहाँ आफूलाई सुरक्षित महसुस गर्नु भएको छ। कतिपयको भिसा अवधि सकिएको छ। त्यसले गर्दा ओभर स्टे हुने हो कि भन्ने चिन्ता स्वभाविक रुपमा उहाँहरुमा परेको देखिन्छ। यस्तो अवस्था कहिलेसम्म रहने होला भन्ने चिन्ता पनि देखिन्छ। नेपालसँगको हवाई सम्बन्ध कहिले जोडिएला भन्ने चासो पनि देखिन्छ। उहाँहरुको यस्ता चासोहरुलाई सम्बोधन गर्ने गरी सरल नेपाली भाषामा हामीले जानकारीहरु अनलाइनमा राखेका छौं। उहाँहरु धेरै डराएको अवस्था छैन। उहाँहरुले नेपाल सरकार, युएई सरकार र डब्लुएचओले जारी गरेका सूचनाहरुलाई हामीले बुझ्ने गरी राखेका छौं। त्यसबारे सचेत गराउँदै आएका छौं।

आगामी दिनमा कोरोनाका कारण नेपालीको रोजगारीको अवस्था के हुन्छ?

कोरोनाका कारण संसारभरकै जनजीवन र अर्थतन्त्रमा प्रभावित पारेको छ। युएईको हकमा संक्रमण नियन्त्रणभन्दा बाहिर गइसकेको छैन। त्यसैले रोजगारीमा यसले ठूलो फरक पारिसकेको भन्ने छैन। युएई सरकार सोभरेन्ट फन्ड भएको दोस्रो ठूलो देश हो। यहाँको सरकारले महत्वपूर्ण आर्थिक प्याकेजको घोषणा गरिसकेको छ। साथै ७ वटा इमिरेटले पनि बेग्लाबेग्लै हिसाबले आर्थिक प्याकेज घोषणा गरेका छन्। कोरोनाले प्रभाव पारे पनि यहाँको सरकारले घोषणा गरेको आर्थिक प्याकेजले अर्थतन्त्रमा दीर्घकालीन असर पार्न रोक्ने अपेक्षा गर्न सक्छौं। जब मार्केटमा यसले त्यति ठूलो असर पर्ने देखिन्न। यहाँ अहिले करिब २ लाख ७५ हजार नेपाली हुनुहुन्छ।

श्रमका लागि आएका बाहेकमा पनि पछिल्ला घटनाक्रमले असर त पक्कै पारेको हुनुपर्छ

अहिलेको अवस्थामा नेपालीहरुलाई कसरी सुरक्षित हुन सकिन्छ भन्ने चासो छ। यहाँ सरकारले त्यसबारे सचेत रहन भनेको छ। भिजिट भिसामा आउने र लुकेर बस्नेमा केही समस्या छ। पर्याप्त तयारी नगरी आएकाहरुमा पनि समस्या हुने गर्छ। तर यहाँको सरकार उदार, सहिष्णु र सहयोगी भएकाले असहजता छैन। यहाँ रहेका नेपालीहरु आत्तिनु पर्दैन। हामी रातदिन नभनी नेपालीहरुलाई साथ दिन तयार छौं। यो अवस्था सधैं रहने कुरा होइन। अफ्ट्यारो रहन्न। त्यसैले धैर्यतासाथ सिर्जनशील भएर र तनावरहित रहन आवश्यक छ।

कामबाहेक यहाँ आएका मानिसहरु कोरोनाका कारण अड्किएका छन् कि छैनन्?

केही नेपालीहरु ट्रान्जिटमा रहेका भन्ने सूचना पाएका छौं। विमानस्थलमा नै लकडाउनमा एक दुई जना हुनुहुन्छ भन्ने खबर छ। उहाँहरुको बारेमा थप खोज्दैछौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell