PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

कोरोना संक्रमणको डरले गाउँ पस्न नदिएपछि रुखमै क्वारेन्टाइन !



पहिलोपोस्ट

कोरोना संक्रमणको डरले गाउँ पस्न नदिएपछि रुखमै क्वारेन्टाइन !

काठमाडौं: कोरोना भाइरसको प्रकोप बढेसंगै मानिसहरु धमाधम गाउँ फर्किन थालेका छन्। चिकित्सकले गाउँ फर्किँदा सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन्। क्वारेन्टाइनमा बस्दा आफू पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने र गाउँलेलाई पनि संक्रमणबाट बचाउन सकिने भएकाले बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा पनि बसिरहेका छन्।

तर, भारतको पश्चिम बंगालमा भने गाउँमा पस्न नदिएपछि केही युवाहरु रुखमै क्वारेन्टाइनमा बसेका छन्। सबैतिर मानिसहरु निर्माण गरिएका क्वारेन्टाइन गृहमा बसिरहेका बेला पश्चिम बंगालको पुरुलिया जिल्लाको भंगडी गाउँमा पछिल्लो ६ दिनदेखि चेन्नईबाट फर्किएका सात जना युवा गाउँबाहिर रुखका हाँगामा क्वारेन्टाइनमा बसिरहेका छन्।

जमिनभन्दा करिब ८/१० फिटको उचाईंमा काठको तख्ताहरु बाध्न बाँसको प्रयोग गरिएको छ।

आमको रुखमा बाँधिएका हरेक खाटलाई प्लास्टिक सिट र झुलले कभर गरिएको छ। रातमा उज्यालो र मोबाइल चार्ज गर्नका लागि रुखमै प्लग जडान गरिएको छ। जहाँ उनीहरुले आफ्नो फोन चार्ज गर्न सक्छन्। उनीहरुलाई मास्क पनि दिइएको छ। गाउँमा आफ्नो परिवारबाट अलग बसिरहेका उनीहरु शौचालय जान, नुहाउन र खानका लागि मात्र रुखबाट तल झर्छन्।

गाउँबाहिर रुखमा बसिरहेका सातै जना श्रमिक हुन्। उनीहरु चेन्नईमा काम गर्दै आएका थिए। लकडाउनको पूर्वसन्ध्यामा उनीहरु चेन्नईबाट रेल चढेर गाउँ फर्किएका थिए। तर, गाउँलेले कोरोना भाइरसको डरले गाउँ प्रवेश गर्न दिएनन्। त्यसपछि उनीहरु रुखमै दिनरात काटिरहेका छन्।

चिकित्सकले घरमा क्वारेन्टाइनमा बस्न भने पनि गाउँलेले भने मानेनन्। त्यसको सट्टा गाउँलेले रुखमा बस्नका लागि आवश्यक सबै व्यवस्था गरिदिए। यस्तो बाध्यकारी कदम भाइरस फैलिने डरले चालिएको गाउँलेको भनाई रहेको द इण्डियन एक्सप्रेसले जनाएको छ।

आमको रुखमा बसिरहेका ७ जनामध्ये एकजनाले भने, 'हामी आफ्नो अधिकतम समय रुखमै विताइरहेका छौं। शौचालय गर्न, लुगा धुन र भोजन गर्नका लागि तल झर्छौं। यस्तो यसकारण गरिएको हो कि हामी पूर्ण रुपले अलग हुनेछौं र गाउँमा कुनै पनि जोखिम न होस। हामी गाउँलेको चिन्ता र सतर्कतालाई साथ दिँदै १४ दिनसम्म रुखमै क्वारेन्टाइनमा बस्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell