PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कोरोनासँग जुध्न तयार करुणा अस्पताल, आफै बनाउँदैछन् 'सेल्फ प्रोटेक्टिभ सुट'

कोरोनासँग जुध्न तयार करुणा अस्पताल, आफै बनाउँदैछन् 'सेल्फ प्रोटेक्टिभ सुट'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपालमा कोरोना संक्रमणको संख्या पाँच पुग्यो। यो संख्या ह्वात्तै बढे के हुन्छ? भन्ने जिज्ञासा धेरैमा छ। अनि यो महामारी फैलिएको अवस्थामा नेपाल कोरोनासँग भिड्न सक्दैन भन्ने अनुमान पनि धेरैले गरेका छन्।

यस्ता अनुमानलाई आड दिएको छ – बिरामीसँग प्राय निजी अस्पतालले गरेको व्यवहार र जिम्मेवारीबाट पन्छिन अपनाएको बहानाहरुले।

देशका प्राय निजी अस्पतालहरुले कोरोना संक्रमणको शंकामा अस्पताल पुगेका बिरामीहरुको जाँच गर्न मानेका छैनन्। उनीहरुले अघि सार्ने एउटै कारण – आवश्यक पूर्वाधार छैनन्। सुरक्षा सामाग्री छैनन्।

धेरै अस्पतालले ज्वरो आएको, लहरे खोकी लागेको, स्वास प्रस्वासमा समस्या देखिएका बिरामीलाई सामान्य जाँच समेत नगरी सिधैं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अथवा पाटन अस्पताल नै रेफर गर्न थाले।

तर, बुढानिलकण्ठस्थित करुणा अस्पताल महामारी फैलिएको अवस्थामा के गर्ने? भनेर बसेन। बरु फैलिन नदिन लागि पर्‍यो। भएको पूर्वाधारको उचित व्यवस्थापन र प्रयोग थाल्यो। सम्भव भएसम्म आवश्यक सामाग्री आफै उत्पादनमा होमियो।

यस अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारका लागि चरणवद्ध तयारी गर्‍यो।

हालसम्म विदेशबाट आएकाहरुमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यसैले पहिलो चरणमा संक्रमण रोकथाममा पहलको तयारी गर्‍यो। यदी संक्रमितसँगको सम्पर्कका कारण एकपछि अर्को हुँदै संक्रमण फैलिए उपचारको दोस्रो चरणका लागि अस्पताल तयार छ।

जसका लागि भेन्टिलेटर सहितत एक आइसोलेसन र ६ वटा क्वारेन्टाइन बेड राखिएका छन्। आवश्यक परेको खण्डमा आइसियु वार्डका अन्य ६ बेड थप गर्न सकिने अस्पतालका प्रमुख डा रामकुमार श्रेष्ठले बताए।

अस्पतालले चिकित्सक, स्वास्थ्यकर्मीदेखि अन्य कर्मचारी सबैलाई 'सेल्फ प्रोटेक्टिभ सुट' उपलब्ध गराएको छ। जसमध्ये टाउकोदेखि गर्धनसम्मको सिल्ड, भाइजर, मास्क, बुट, पञ्जा लगायत आवश्यक सामाग्रीहरु रहेका छन्। यस सुटको सेट करुणा अस्पतालले नै उत्पादन गरेको हो।

हाल अस्पतालको मुख्य गेटबाट छिरेदेखि सम्पूर्ण कर्मचारी उक्त सुट लगाएको अवस्थामा भेटिन्छन्।

यहाँ चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारी गरी ५० जनालाई आवासीय व्यवस्था गरिएको छ। कोरोना भाइरस संक्रमणको केस देखिएको खण्डमा उपचारका लागि तयारी अवस्थामा राखिएको हो।

'एकबाट अर्कोमा संक्रमण सर्न सक्ने सम्भावनालाई न्यून गर्न चिकित्सक एवं अन्य स्टाफलाई यहीं बस्ने प्रावधान मिलाएका हौं। यसो गर्दा संक्रमणको लोकल ट्रान्फर हुने जोखिम कम हुन्छ', डाक्टर श्रेष्ठले भने।

त्यस्तै बाहिरबाट अस्पताल पुग्ने आम मानिसदेखि बिरामीको पनि उचित परीक्षण गरेर मात्र प्रवेश गराउने व्यवस्थापन गरिएको छ।

 अस्पताल पुग्ने सबैको ज्वरो नापिन्छ। घाँटीमा कुनैपनि किसिमको समस्या भए नभएको जाचिन्छ। उनीहरुको ट्राभल हिस्ट्री भए, नभएको बारेमा बुझिन्छ।

'शंका लागेको व्यक्तिको आवश्यक जाँचपछि लक्षण देखिएको खण्डमा क्वारेन्टाइनमा राख्छौं। र भाइरस परीक्षणका लागि टेकु पठाउँछौं', श्रेष्ठले भने। 

 



ट्रेन्डिङ पोस्ट

Ncell