PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'लकडाउन' प्रभावित दैनिकी, पुस्तक र योगामा रमाउँदै कलाकार



मन्दिरा खत्री

'लकडाउन' प्रभावित दैनिकी, पुस्तक र योगामा रमाउँदै कलाकार

काठमाडौं : कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि देश लकडाउनमा छ। एक साता लामो लकडाउन समाप्त हुनुअघि ८ दिनको अवधि थपियो। यसका कारण मानिसहरु घरभित्र छन्, फूर्सदिला।

अन्य समय छायांकन, स्टेज कार्यक्रम, विदेश भ्रमण, प्रचार प्रसारमा व्यस्त रहने कलाकारहरु पनि पारिवारिक समय बिताइ रहेका छन्।

अभिनेत्री वर्षा सिवाकोटीको त लकडाउनले दैनिकी नै बदलदियो। हाल उनले बिहान सबेरै उठेर नियमित योगा गर्ने समाय पाएकी छिन्। दिउसोको समय नयाँ नयाँ पुस्तक पढेर बिताउँछिन्। भान्सामा आमालाई सघाउनेदेखि लिएर सर सफाइमा पनि आफै जुट्न पाएकी छिन्। 'फिल्म हेरेर समय कटाउनु पनि उपाय हुनसक्छ। तर मलाई पुस्तकलाई समय दिने सही मौका यही हो भन्ने महसुस भयो। एक वा दुई बसाइमै सकिने गरी। नत्र कहाँ यसरी समय मिल्नु?', भन्छिन्,'पुस्तक पढ्नुले आफैलाई बुझ्न र चिन्न पनि मद्दत गर्छ।'

वर्षालाई लकडाउन आफ्नै सुरक्षाका लागि हो भन्ने महसुस भएकाले घर बाहिर निस्कन नपाउनुको छट्पटी छैन। उनलाई इच्छा थियो, यो विपद्को परिस्थितिमा दैनिक ज्यालादारी मजदुरी गर्नेहरुलाई राहत वितरण गर्न जाने। तर लकडाउनको अवज्ञा गर्न चाहिनन्। त्यसैले कोरोना नियन्त्रण कोषमा एक लाख जम्मा गर्ने घोषणा गरिन्।

पुस्तकसँगै रमाएका छन् कलाकार बुद्धी तामाङ उर्फ हैट् पनि। लकडाउनका कारण फिल्म ‘दुई नम्बरी’को छायांकन स्थगित भयो। त्यसपछि बल्‍ल मौका मिल्यो, गत महिना भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गरेको रङ्ग महोत्सवबाट किनेर ल्याएका पुस्तकको पाना पल्टाउने। 'नाटक सम्बन्धी पुस्तहरु हुन्। यही पढेर दिन काट्दै छु। पुस्तक र फिल्म नै साथी बनेका छन्', उनले भने।

एक साता लामो लकडाउन खुलेपछि गृह जिल्ला काभ्रेपलान्चोक जाने योजनामा थिए उनी।

तर,  पुन: पढेरै समय बिताउँदै छन्।

गायक सन्तोष लामालाई भने समय तालिका बिग्रिएको महसुस भएको छ। हुन त उनी होली सकिएदेखि नै केही सतर्क बने। सेल्फ क्वारेन्टाइनमा बसे। त्यसरी बस्दा बिहान चाँडै उठ्नु परेन। सुत्ने र उठ्ने तालिका बिग्रियो। तर दिउसोको समय सिर्जनात्मक रुपमा बिताइ रहेका छन्। दैनिक एउटा फिल्म वा सिरिज हेर्नु, फरक परिकारहरु बनाएर खानु, पुस्तक पढ्नु आदि।  

'गीत अभ्यासका लागि पर्याप्त समय पाएँ। नियमित योगा पनि गर्न पाएको छु। सधैं यसरी समय व्यवस्थापन गर्न गाह्रो हुन्‍छ नि', उनले भने।

अभिनेता भुवन केसी पनि परिवार सँगै छन्। फिल्म हेर्नु, गीत सुन्नु उनको दैनिकी बनेको छ। फिल्म 'पारस'को कास्टिङ छान्नमा व्यस्त थिए उनी। तर लकडाउनपछि काम स्थगित भए। 'हालका लागि फिल्मभन्दा महत्वपूर्ण स्वास्थ्य हो। त्यसैले सरकारको निर्देशन पालन गरेर घरमै बसेको छु', उनले भने।

गायिका सुनिता दुलालको दिनचर्या भने गीती अभ्यास र योगा गरेरै बितेको छ। 'फूर्सदमा पनि समय व्यवस्थापन गर्न गाह्रो हुँदो रहेछ। अहिले दिउसोको समय प्राय फिल्म हेर्छु।'

कलाकार दीपकराज गिरी त सरकारले लकडाउन घोषणा गर्नुअघि देखि घरबाट निस्किएका छैनन्। किनकि उनी नयाँ फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त थिए। त्यसैले लकडाउनले उनको दैनिकीमा असर गरेको छैन।

भन्छन्,‘तीन महिनादेखि फिल्म ‘छक्का पञ्जा ४’को स्क्रिप्ट लेखिरहेको छु। त्यस बाहेक सामाजिक सञ्जालमार्फत् दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिरहेको छु। बाँकी समय व्यायम गर्ने, फिल्म हेर्ने र घरपरिवारसँगै रमाइलो गरेर बिताइरहेको छु।’

कमेडियन मनोज गजुरेललाई पनि खुशी एउटै कुराको लागेको छ, योगा गर्ने पर्याप्त समय पाए। 'नत्र सधैं हतारमा हुन्थें। अहिले दुई घण्टा योगा गर्न पाएको छु', उनले भने। त्यस बाहेक पुस्तक पढ्नु र फिल्म हेर्नु नै उपाय हुन्। 'परिवारसँग बसेर यसरी समय बिताउनुको आनन्द पाएको छु। यो नै ठूलो कुरा हो', गजुरेल भन्छन्।

सामाजिक सञ्जालमा सक्रिय उनले दर्शकहरुलाई मनोरञ्जन तथा कोरोना भाइरस विरुद्द सावधानीका सन्देश पनि प्रवाह गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell